• TOKHA LIVE

    • ९ बैशाख २०८३, बुधबार १८:२२

    नेपालको रोमाञ्चक जित: रुवाण्डामाथि दुई विकेटले विजय

    काठमाडौँ, ९ वैशाखः आइसिसी महिला ट्वान्टी च्यालेन्ज ट्रफीअन्तर्गत नेपालले आयोजक रुवाण्डा माथि रोमाञ्चक जित हात पारेको छ।

    रुवाण्डाको राजधानी किगाली स्थित गहङ्गा क्रिकेट ओभलमा आज सम्पन्न खेलमा नेपालले घरेलु टोलीलाई दुई विकेटले पराजित गर्दै महत्वपूर्ण जित निकालेको हो।

    ८९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। नेपालको जितमा सम्झना खड्काले सर्वाधिक ४८ रनको महत्वपूर्ण योगदान दिइन्। त्यस्तै पूजा महत्तोले १३ तथा विन्दु रावलले १० रन जोड्दै टोलीलाई जिततर्फ डोर्‍याए।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रुवाण्डाले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ८८ रन बनाएको थियो। रुवाण्डाका लागि एलिस इकुजवेले १७ रन बनाउँदा मर्वे उवासले १५, क्लेरिस उमुटोनिवासेले १३ तथा रोसिन उवेराले १२ रनको योगदान दिए।

    नेपालका बलरहरूले अनुशासित प्रदर्शन गर्दै विपक्षीलाई सानो योगफलमै समेटे। रचना चौधरीले ३ विकेट लिँदा पूजा महत्तो र कविता कुँवरले समान दुई/दुई विकेट लिए। मनिष उपाध्याय र रिया शर्माले एक/एक विकेट लिएर टोलीको जित सुनिश्चित गरे।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) द्वारा आयोजना गरिएको यो प्रतियोगिता डबल राउन्ड रोबिन लिगका आधारमा सञ्चालन भइरहेको छ, जहाँ सबै खेल सकिएपछि शीर्ष स्थानमा रहने टोली विजेता घोषित हुनेछ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै