काठमाडौँ, ७ वैशाख / काठमाडौँ महानगरपालिका ले विभिन्न समयमा चोरी भएर विदेशसम्म पुगेका तथा सङ्ग्रहालयमा राखिएका प्राचीन मूर्तिहरूलाई क्रमशः आफ्नै मौलिक स्थानमा पुनःस्थापित गर्ने अभियानलाई तीव्र बनाएको छ।
विश्व सम्पदा दिवसको अवसर पारेर राष्ट्रिय सङ्ग्रहालय मा सुरक्षित राखिएको १३औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य मुद्रामा रहेको प्रस्तर मूर्ति सूर्यमुखी महादेव मन्दिर परिसरमा पुनःस्थापना गरिएको हो।
उक्त मूर्ति कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गत, वडा नं २० का अध्यक्ष राजेन्द्र मानन्धर, सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ तथा अधिवक्ता सञ्जय अधिकारी ले सङ्ग्रहालयबाट बुझेर ल्याउनुभएको हो।
मूर्ति हस्तान्तरणको क्रममा अरुणा नकर्मी, हनुमानढोका हेरचाह अड्डा का प्रमुख काजिमान प्याकुरेल, सङ्ग्रहालय अधिकृत सुवासकृष्ण डङ्गोल तथा पुरातत्व विभाग का पुरातत्व अधिकृत अमृता महर्जन को रोहवर रहेको थियो।
६८.५ सेन्टिमिटर उचाइ र ३०.५ सेन्टिमिटर चौडाइको उक्त मूर्ति पहिले चोरी भई लण्डन पुगेको थियो। पछि नेपाली दूतावास बेलायत मार्फत फिर्ता ल्याइएपछि २०५२ सालमा सङ्ग्रहालयमा राखिएको थियो।
सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले काठमाडौँको ऐतिहासिक पहिचान जोगाउनु महानगरको प्रमुख दायित्व भएको उल्लेख गर्दै यस अभियानलाई निरन्तरता दिइने बताउनुभयो।
हरेक वर्ष अप्रिल १८ मा मनाइने विश्व सम्पदा दिवस का अवसरमा यस्तो पुनःस्थापना कार्यक्रम गरिएको हो। यो दिवस इन्टरनेसनल काउन्सिल अन मोनुमेन्ट्स एन्ड साइट्स को पहलमा सुरु भई पछि युनेस्को द्वारा अन्तरराष्ट्रिय रूपमा मान्यता प्राप्त भएको हो। नेपालमा भने सन् २०१० देखि औपचारिक रूपमा मनाउन थालिएको छ।

