काठमाडौँ, ७ वैशाख / आज वैशाख शुक्ल तृतीयाका दिन हिन्दू धर्मावलम्बीहरूले पवित्र अक्षय तृतीया पर्व श्रद्धा, भक्ति र दानपुण्यका साथ मनाइरहेका छन्। यस दिन सातु र सर्वत दान गर्ने तथा सेवन गर्ने प्राचीन वैदिक परम्परा रहिआएको छ।
शास्त्रीय विधानअनुसार बिहान सबेरै उठी घर लिपपोत गरेर स्नान गरिन्छ र विधिपूर्वक पूजा आरम्भ हुन्छ। दियो, कलश र गणेशको पूजा गरी कलशमाथि अष्टदल लेखिएको तामाको थाली राखेर भगवान् विष्णुको सोह्र सामग्रीद्वारा आराधना गर्ने चलन छ। त्यसपछि शुद्ध पानीमा दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत तयार पारिन्छ भने जौँको सातु दान गरिन्छ।
धार्मिक ग्रन्थहरूमा यस दिन गरिएको स्नान, दान, जप र ध्यानजस्ता पुण्य कर्म कहिल्यै नाश नहुने‘अक्षय’ हुने विश्वास व्यक्त गरिएको छ। विशेषगरी वैशाखको गर्मीमा सातु र सर्वत शरीरका लागि अमृतसरह मानिन्छन्, जसले शरीरलाई शीतलता दिनुका साथै शक्ति र रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुर्याउँछ।
यस दिन “थोरै दानले पनि ठूलो फल प्राप्त हुन्छ” भन्ने मान्यता प्रचलित छ। त्यसैले छाता, लौरो, जुत्ता, अन्न, वस्त्रजस्ता सामग्री दान गर्ने परम्परा रहेको छ। सामर्थ्य हुनेहरूले गाई, जमिन वा सुनसमेत दान गर्ने चलन छ भने असहाय र विपन्न वर्गलाई सहयोग गर्ने अभ्यास पनि उत्तिकै महत्वपूर्ण मानिन्छ।
पौराणिक विश्वासअनुसार आजकै दिन भगवान् शिव र पार्वतीको विवाह भएको थियो। यसैले विवाहजस्ता शुभ कार्यका लागि आज साइत हेर्नु नपर्ने मान्यता छ। साथै त्रेतायुगको प्रारम्भ पनि यही दिनबाट भएको उल्लेख शास्त्रहरूमा पाइन्छ।
यस अवसरमा पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयहरूमा भक्तजनको ठूलो भीड लागेको छ। भक्तजनहरूले पूजा, आराधना र दर्शन गर्दै अक्षय तृतीया पर्वलाई आस्थापूर्वक मनाइरहेका छन्।

