पाटन (ललितपुर), ६ वैशाखः
ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले ७५औँ जन्मदिनका अवसरमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई नागरिक अभिनन्दन गर्ने भएको छ।
वडा नं. १६ का अध्यक्ष निर्मलरत्न शाक्यका अनुसार पाटन दरबार क्षेत्रमा नेवारी परम्पराअनुसार बाजागाजासहित श्रेष्ठको भव्य स्वागत गरिनेछ। सो अवसरमा सगुन प्रदान गर्नुका साथै कलाकार समितिले ‘ललितरत्न’ उपाधिसहित सम्मानपत्र प्रदान गर्ने कार्यक्रम तय गरिएको छ।
उहाँका अनुसार कार्यक्रममा ललितपुर तयारी पोशाक व्यापार सङ्घ, पाटन पर्यटन विकास संस्था, नेपाल भाषा मंका खलः यल, थ्रीस्टार क्लब, ललितपुर उद्योग वाणिज्य सङ्घलगायत २० भन्दा बढी सङ्घसंस्थाहरूले पनि सम्मानपत्र प्रदान गर्नेछन्।
कार्यक्रम संयोजक सुरजवीर बज्राचार्यका अनुसार कार्यक्रममा मदनकृष्ण श्रेष्ठका अभिन्न सहयात्री तथा निकट व्यक्तित्वहरूसँग संवाद गरिनुका साथै उहाँका लोकप्रिय गीतहरूको सांगीतिक प्रस्तुति पनि रहनेछ।
साँझ ५ बजे पाटन दरबार क्षेत्रमा स्वागत कार्यक्रम आयोजना गरिनेछ भने त्यसपछि कात्तिक डबलीमा औपचारिक सम्मान समारोह हुनेछ। कार्यक्रममा विभिन्न चर्चित गायक गायिकाहरूले श्रेष्ठका चर्चित गीतहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
वडा नं. १६ कलाकार समितिले विगत पाँच वर्षदेखि निरन्तर कला क्षेत्रमा योगदान पुर्याउँदै विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यसअघि समितिले वरिष्ठ शास्त्रीय सङ्गीतज्ञ मोहनप्रसाद जोशी तथा वरिष्ठ कलाकार रत्न बेहोसीलाई ‘ललितरत्न’ उपाधिसहित सम्मान गरिसकेको छ।
संयोजक बज्राचार्यका अनुसार बिहान ९ बजेदेखि महारानी पोखरी परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ भने साँझ सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिनेछ।

