• TOKHA LIVE

    • ६ बैशाख २०८३, आईतवार १७:४५

    जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

    काठमाडौँ, ६ वैशाखः
    विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रअन्तर्गत रहेको जयवागेश्वरी मन्दिरको ‘कलेवर’ (मूर्तिको नवीकरण) फेर्ने कार्य तीव्र गतिमा भइरहेको छ। सो क्रममा जयवागेश्वरी, गणेश र भैरवका नयाँ माटाका मूर्ति निर्माण भइरहेको छ।

    पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी अनिता भट्टका अनुसार मन्दिरको कलेवर हरेक १२ वर्षमा फेर्ने परम्परा छ। वैशाख १८ गतेसम्म सम्पूर्ण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो।

    जयवागेश्वरीमा टाउको काटिनुअघिको गणेशको मूर्ति स्थापना गरिएको विशेषता छ, जसका कारण यहाँको मूर्तिमा सूँढ देखिँदैन। ऐतिहासिक अभिलेखअनुसार कलिगत संवत् ३२३२ मा निर्माण सुरु भएको मन्दिर ४७ वर्षपछि संवत् ३२७४ मा सम्पन्न भएको मानिन्छ।

    विसं १९९० को भूकम्पमा क्षति पुगेपछि मन्दिरको जीर्णोद्वार गरिएको थियो भने २०७२ को भूकम्पपछि पुनः ठूलो क्षति पुगेकाले पुनर्निर्माण गरिएको थियो।

    जयवागेश्वरीलाई महासरस्वती, महाकालीमहालक्ष्मीका रूपका रूपमा मानिए पनि यहाँ विशेषगरी विद्याकी देवीका रूपमा पूजा गरिन्छ। तन्त्र साधना गर्ने साधकहरू अन्तिम साधनास्थलका रूपमा यहीँ आएर पूजा गर्ने परम्परा रहेको छ।

    मन्दिरसँगै स्थापना गरिएको सुन्धारा हाल लोप हुने अवस्थामा पुगेको छ भने जयवागेश्वरीको ठीक अगाडि तलेजु भवानीको मन्दिर अवस्थित छ।

    इतिहासअनुसार जयवागेश्वरी उपत्यकाकै पुरानो राजधानीका रूपमा परिचित छ। स्थानीयवासी सन्देश मुनिकारका अनुसार ‘गोल’ भनिने यो क्षेत्र उपत्यकाको पहिलो बस्ती मानिन्छ, जहाँ नौ जात, नौ पोखरी, नौ पाटी र नौ ढोकाजस्ता संरचनाहरू रहेका थिए।

    इतिहासविद्हरूका अनुसार गोपालकालकिराँतकालमा राजधानी यहीँ रहेको थियो। पछि लिच्छविकालमा राजधानी हाँडीगाउँ सरेको र मल्लकालमा हनुमानढोकामा स्थानान्तरण गरिएको इतिहास पाइन्छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै