नविना श्रेष्ठ
बैशाख ५, २०८३
असन क्षेत्रको मौलिकता पुनर्स्थापना गर्ने उद्देश्यसहित काठमाडौँ महानगरपालिकाले आजदेखि विशेष पुनरुत्थान अभियान सुरु गरेको छ। असन, जनबाहाल र इन्द्रचोक क्षेत्रमा केन्द्रित उक्त अभियानको शुभारम्भ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले असन डबलीमा आयोजित विशेष समारोहबीच गर्नुभयो।
उद्घाटनअघि कमलाक्षी (कःमिलाछी, दरबार हाईस्कूल नजिक) देखि असन हुँदै भोटाहिटी, महाबौद्ध स्तूप र केलटोल (क्यलःत्वाः) सम्म सांस्कृतिक बाजागाजासहित पदयात्रा गरिएको थियो। पदयात्रामा क्षेत्रका १३ वटा गुठी तथा परम्परागत वादनगायन समूहका सदस्यहरूले आकर्षक सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए।
केलटोल पुगेपछि अभियान वडा नं. २५ का अध्यक्ष राजेश डंगोल लाई हस्तान्तरण गरिएको थियो। सो अवसरमा कार्यवाहक प्रमुख डंगोलले कमलाक्षी र महाबौद्ध क्षेत्रमा निर्माण गरिएका निःशुल्क ‘वाटर एटीएम’ बुथको उद्घाटनसमेत गर्नुभयो।
महानगरपालिकाका अनुसार अब यो अभियान हरेक शनिबार विशेष सांस्कृतिक तथा सामाजिक कार्यक्रमसहित सञ्चालन गरिनेछ। वडा नं. २७ को नेतृत्वमा अन्नपूर्ण आरसीटी क्लब, स्थानीय क्लब, टोल सुधार समिति, गुठियार तथा विभिन्न सरोकारवाला संस्थाहरूको सहभागितामा कार्यक्रम अगाडि बढाइनेछ।
कार्यक्रम उद्घाटन गर्दै कार्यवाहक प्रमुख डंगोलले असन केवल सहरी बस्ती मात्र नभई काठमाडौँको इतिहास र पहिचान बोकेको जीवन्त क्षेत्र भएकाले यसको मौलिक स्वरूप जोगाउन स्थानीय समुदायको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो। उहाँले पैदलयात्रीमैत्री, बालमैत्री तथा ज्येष्ठ नागरिकमैत्री सहरी व्यवस्थापनमा महानगर केन्द्रित रहेको स्पष्ट पार्नुभयो।
कार्यक्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत ले असन क्षेत्रमा हरेक शनिबार हुने गतिविधिले नेवार सभ्यताको निरन्तरता कायम गर्ने अभ्यासलाई बल पुर्याउने बताउनुभयो। परम्परा कागजमा सीमित नराखी व्यवहारमा उतार्नुपर्ने उहाँको जोड थियो।
उहाँले वडा नं. ५ नरदे (हाँडीगाउँ) मा यस्तै कार्यक्रम सफल भएको उल्लेख गर्दै आगामी दिनमा वडा नं. २५ र वडा नं. ८ मा पनि विस्तार गरिने जानकारी दिनुभयो।
वडा अध्यक्ष योगेशकुमार खड्गी ले यस्ता कार्यक्रम समुदायको सक्रिय सहभागिताविना सफल नहुने बताउँदै गुठी, क्लब, संघसंस्था, खलपुचः तथा युवाहरूको नेतृत्वमा अभियान अघि बढिरहेको जानकारी दिनुभयो।
असन क्षेत्र जन्मदेखि मृत्यु संस्कारसम्म आवश्यक सामग्री पाइने परम्परागत बजारका रूपमा परिचित छ। यहाँ रैथाने ज्ञान, आयुर्वेदिक औषधि, बीउबिजन, धार्मिक संरचना, डबली, पाटी, वहाल, बही तथा चुकननीजस्ता महत्वपूर्ण सम्पदाहरू रहेका छन्।
पछिल्लो समय यस्ता सम्पदामा परेको नकारात्मक प्रभावलाई मध्यनजर गर्दै संरक्षण तथा प्रवर्द्धनका लागि यो अभियान सञ्चालन गरिएको महानगरपालिकाले जनाएको छ।
कार्यक्रमअन्तर्गत सामाजिक तथा सांस्कृतिक गतिविधि, रैथाने ज्ञान–सीप प्रदर्शनी, परम्परागत व्यापार प्रवर्द्धन, गायन, वादन तथा नृत्य कार्यक्रम सञ्चालन गरिनेछन्। यसबाट स्थानीय बासिन्दाको आयआर्जनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
अभियान अवधिमा कमलाक्षी सिंहढोका, भोटाहिटी, वीर अस्पताल, वटु गणेश, भोँसीस्थित गणेश मन्दिर तथा इन्द्रचोक–मच्छिन्द्र बहाल क्षेत्रलगायत विभिन्न मार्गबाट असनतर्फ सवारी प्रवेश निषेध गरिएको छ। सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।
असन आउने आगन्तुकका लागि धरहरा भूमिगत पार्किङ, जमल वहाल, दरबार हाईस्कूल तथा अन्य तोकिएका स्थानमा पार्किङको व्यवस्था गरिएको छ।
कार्यक्रममा महानगर प्रहरी, ट्राफिक प्रहरी, नेपाल प्रहरी, नेपाल स्काउट, मच्छिन्द्र क्लब तथा विभिन्न संघसंस्था र स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

