• TOKHA LIVE

    • ६ बैशाख २०८३, आईतवार १७:१३

    ऐतिहासिक प्रमाण र स्थानीय समुदायको निरन्तर पहलबाट करिब तीन दशकपछि देवी आफ्नै स्थानमा पुनःस्थापित

    नविना श्रेष्ठ
    बैशाख ५, २०८३

    विश्व सम्पदा दिवसको अवसरमा, काठमाडौँको मरू टोलस्थित गः गुठी मन्दिर परिसरबाट विगतमा चोरी भई बेलायत पुर्‍याइएको महागौरी/पार्वती देवीको पवित्र मूर्ति आफ्नै मौलिक स्थानमा पुनःस्थापित गरिएको छ।

    वि.सं. २०५२ चैत २९ गते नेपाल फर्काइएको उक्त मूर्ति लामो समयसम्म राष्ट्रिय संग्रहालय, छाउनीमा सुरक्षित रूपमा राखिएको थियो। विस्तृत अनुसन्धान, ऐतिहासिक प्रमाण र स्थानीय समुदायको निरन्तर पहलपछि करिब तीन दशकपछि २०८३ साल बैशाख ५ गते देवीलाई पुनः आफ्नै स्थानमा प्रतिष्ठापन गर्न सफल भएको हो।

    यस महत्वपूर्ण कार्यमा वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरको संयोजन, अभियानकर्ता गणपतिलाल श्रेष्ठको नेतृत्व तथा कानूनी सहयोग अधिवक्ता संजय अधिकारीश्रीना नेपालबाट प्राप्त भएको थियो।

    त्यस्तै प्राविधिक सहयोग हनुमानढोका हेरचाह अड्डाका प्रमुख काजी प्याकुरेल, पुरातत्व विभागकी सरिता सुवेदी तथा काठमाडौँ महानगरपालिकाका आर्किटेक्ट अमित बज्राचार्यबाट प्राप्त भएको थियो।

    मूर्तिको दीर्घकालीन संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको राष्ट्रिय संग्रहालय, छाउनीप्रति विशेष आभार व्यक्त गरिएको छ। साथै प्रा.डा. एरिन थोम्सन तथा लट्स आर्ट अफ नेपालको सहयोगप्रति पनि कृतज्ञता व्यक्त गरिएको छ।

    स्थानीय स्तरमा मरु त्वा: पुच: तथा मरू टोलका बासिन्दाहरूको निरन्तर प्रयास, धैर्य र प्रतिबद्धताले करिब ३० वर्षपछि यो ऐतिहासिक पुनर्स्थापना सम्भव भएको हो। यस अवसरमा बेलायती राजदूत Rob Fennको समेत सहभागिता रहेको थियो।

    कार्यभाग मेयर सुनिता डंगोलले सामाजिक सञ्जालमार्फत् धन्यवाद व्यक्त गर्दै ऐतिहासिक तथा सांस्कृतिक परम्परा हाम्रो पहिचान भएको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार महागौरी/पार्वती देवी केवल कला वस्तु नभई हाम्रो आस्था, पहिचान र जीवित सांस्कृतिक परम्पराको अभिन्न स्वरूप हुनुहुन्छ।

    उहाँको पुनर्स्थापना केवल मूर्तिको स्थापना मात्र नभई हाम्रो विश्वास र सांस्कृतिक निरन्तरताको पुनर्जीवन भएको उल्लेख गर्दै सम्पदा संरक्षण राज्य र नागरिक सबैको साझा दायित्व भएकोमा पुनः जोड दिइएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै