नविना श्रेष्ठ
वैशाख ४, २०८३
काठमाडौँ /आज वैशाख कृष्ण औँसीका दिन देशभर माता तीर्थ औँसी श्रद्धा र सम्मानका साथ मनाइएको छ। यस दिन विशेषगरी दिवंगत आमाको सम्झनामा पूजा, दान तथा श्रद्धाञ्जली अर्पण गर्ने परम्परा रहिआएको छ।
सेतो मच्छिन्द्रनाथ आर्यावलोकितेश्वर मन्दिर परिसरमा बिहानैदेखि भक्तजनहरूको उल्लेखनीय भीड लागेको थियो। बिहान ४ बजेदेखि नै दर्शनका लागि लाइनमा उभिएका श्रद्धालुहरूले आमाको सम्झनामा मनपर्ने परिकार चढाउँदै ‘सिरादान’ गरेका थिए।
वर्षमा विशेष गरी दुईपटक माता तीर्थ औँसी र अन्य एक पर्वमा यस मन्दिरमा भक्तजनहरूको ठूलो उपस्थिति देखिने गर्दछ।
माता तीर्थ औँसी मनाउने परम्परासँग सम्बन्धित एक प्राचीन किम्बदन्ती पनि प्रचलित छ। कथाअनुसार, आमाको निधनपछि एक व्यक्तिले मातातीर्थ पुगेर स्नान गर्दा आफ्नी आमाको स्वरूप दर्शन गरेको विश्वास गरिन्छ। त्यसै घटनापछि यस दिनलाई माता तीर्थ औँसीका रूपमा मनाउने चलन सुरु भएको मानिन्छ।
स्थानीय विश्वासअनुसार, यस दिन दिवंगत आमाको आत्माको स्मरण गर्दै परिकार चढाएमा आमाको दर्शन पाउन सकिन्छ भन्ने आस्था रहेको छ। सोही आस्थाका साथ भक्तजनहरू बिहानैदेखि मन्दिरमा उपस्थित भएका थिए।
मन्दिर परिसरमा दर्शनार्थीहरूको व्यवस्थापनका लागि मच्छिन्द्र क्लब र आर्यावलोकितेश्वर संस्था ले संयुक्त रूपमा सरसफाइ, भीड व्यवस्थापन तथा सहजीकरणका कार्य गरेका थिए।
यसका साथै, मच्छिन्द्र क्यूका रोभररेन्जर, महानगर प्रहरी तथा स्वयंसेवकहरूको सक्रिय सहभागिताले भक्तजनहरूलाई सहज रूपमा दर्शन गर्न सहयोग पुगेको देखिन्थ्यो।

