• TOKHA LIVE

      TOKHA LIVE

    • ४ बैशाख २०८३, शुक्रबार १३:०५

    खुसी डङ्गोल ‘फेस अफ कर्पोरेट टी–१० लिग’ नियुक्त

    काठमाडौं, वैशाख ३ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी खेलाडी खुसी डङ्गोललाई ‘कर्पोरेट टी–१० लिग’ को ‘फेस’ नियुक्त गरिएको छ। काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले बिहीबार आयोजित एक औपचारिक कार्यक्रममा उक्त घोषणा गरेको हो।

    सन् २०१७ देखि क्रिकेट खेल्न सुरु गरेकी डङ्गोलले सन् २०२३ अगस्टमा नेपालको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गर्नुभएको थियो। कुवेतविरुद्धको पहिलो खेलमै पहिलो बलमा विकेट लिँदै उहाँले ऐतिहासिक कीर्तिमान कायम गर्नुभएको थियो, जसले उहाँलाई यस्तो उपलब्धि हासिल गर्ने विश्वकै चौथो तथा नेपालको पहिलो महिला खेलाडी बनाएको छ।

    त्यसैगरी, सन् २०१९ मा सम्पन्न प्रधानमन्त्री कप प्रतियोगितामा उहाँले एक रन पनि नदिई पाँच विकेट लिँदै अर्को उल्लेखनीय कीर्तिमान बनाउनु भएको थियो। हालसम्म उहाँले १० अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाइसक्नुभएको छ।
    ‘फेस अफ कर्पोरेट टी–१०’ मा नियुक्त भएपछि खुसीले आफू अत्यन्त उत्साहित र गौरवान्वित भएको बताउनुभयो। उहाँले यस किसिमका प्लेटफर्मले महिला खेलाडीलाई थप अवसर प्रदान गर्नुका साथै क्रिकेटमा महिलाको सहभागिता अझ सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रममा काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिका निर्देशक ज्योति भण्डारीले खुसीजस्ती प्रतिभाशाली खेलाडी लिगसँग जोडिनु संस्थाका लागि गर्वको विषय भएको उल्लेख गर्नुभयो।
    कर्पोरेट टी–१० लिग आगामी वैशाख १० देखि १७ गतेसम्म काठमाडौंको तल्लो मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै