लिस्बन (पोर्चुगल), २९ चैतः युरोपेली मुलुक पोर्चुगलमा रहेका नेवार समुदायले ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व बिस्केट (बिस्का) जात्रा मनाउने भएका छन्। नेवाः समाज पोर्चुगलको आयोजनामा यही अप्रिल १५ (आगामी वैशाख २ गते) का दिन राजधानी लिस्बनमा भव्यताका साथ जात्रा मनाइने भएको हो।
नेवारी रीतिरिवाज, भाषा, कला तथा धर्म–संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ नयाँ वर्ष २०८३ को अवसर पारेर शुभकामना आदानप्रदानसहित कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष अमृतरत्न शाक्यले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रममा नेवारी परम्पराअनुसार भैरवको विशेष पूजाआराधना गरिनेछ।
त्यसैगरी समयबजी, टीकाटाला, ध्वजा र सगुनसहित सहभागीबीच शुभकामना साटासाट गरिने कार्यक्रम तय गरिएको छ। नेवारी कला र संस्कृतिको माध्यमबाट पोर्चुगलमा रहेका नेवार समुदायबीच आपसी सहकार्य, मेलमिलाप र भाइचारालाई अझ सुदृढ बनाउने उद्देश्यले जात्रा आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा लाखे नाच, धिमे बाजा, बाँसुरी धुनलगायत नेवारी सांस्कृतिक झलकहरू प्रस्तुत गरिनेछन्। लिस्बनको आरोइसस्थित ग्रिल एन्ड चिल रेस्टुरेन्टको हलमा आयोजना हुने उक्त कार्यक्रममा सहभागी हुन पोर्चुगलवासी नेवार समुदायलाई आयोजकले विशेष आग्रह गरेको छ।

