• TOKHA LIVE

    • २७ चैत्र २०८२, शुक्रबार २२:५०

    टोखामा विस्का: जात्राको रौनक: परम्परा जोगाउन १२ लाख बजेट

    काठमाडौँ, २७ चैत । नयाँ वर्षको आगमनसँगै टोखा  पुस्तौँदेखि चलिआएको ‘विस्का: जात्रा’लाई यस वर्ष पनि भव्य र व्यवस्थित रूपमा मनाउने तयारी पूरा भएको छ।

    टोखा नगरपालिका र ‘विस्का: जात्रा २०८३ मूल व्यवस्थापन समिति’ले पत्रकार सम्मेलनमार्फत जात्राको तयारीबारे जानकारी दिँदै परम्परालाई जोगाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन्।

    नगरपालिकाले यस वर्ष जात्राका लागि १२ लाख रुपैयाँ बजेट छुट्याएको छ, यो केवल रकम होइन, पुर्खाले छोडेको संस्कृतिप्रतिको सम्मान र जिम्मेवारीको संकेत हो।


    इतिहाससँग जोडिएको जीवित परम्परा

    संस्कृतिविद्हरूका अनुसार नेपाल मण्डल को सांस्कृतिक केन्द्र भक्तपुर बाट सुरु भएको यो परम्परा राय मल्ल का छोरा भुवन मल्ल को समयदेखि टोखामा फैलिएको विश्वास गरिन्छ। केही कथनमा जगज्योति मल्ल को योगदान पनि जोडिन्छ।

    यो केवल जात्रा होइन नयाँ वर्षलाई स्वागत गर्ने, इतिहासलाई सम्झिने र समुदायलाई जोड्ने एक जीवन्त उत्सव हो।


    चार दिनसम्म संस्कृति र श्रद्धाको उत्सव

    आगामी वैशाख १ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने जात्रामा गणेश , सपन बिनायक ,कोथु गणेश , पिङ्गद्य मसानकाली, चण्डेश्वरी, सरस्वती र महाद्यकाे खटसहित ७ वटा खटहरूलाई वैदिक तथा तान्त्रिक विधिअनुसार पूजा गरि जात्रा गरि  ७ वटा खटहरू नगर परिक्रमा गराइनेछन्। वैदिक र तान्त्रिक विधिअनुसार पूजा गरिने यी खटहरूले टोखाका गल्लीहरूलाई आस्थाले भरिदिनेछन्।जात्रा अवधिभर दाफा भजन, धिमे र सिन्दूर जात्राको रौनक छाउनेछ। साथै, इवलीमा ‘याः प्याखं’, ‘नाग प्याखं’ र ‘माक प्याखं’ जस्ता पौराणिक नाचहरू प्रदर्शन गरिने मूल व्यवस्थापन समितिले जनाएको छ।

    वैशाख १ गते खायु सल्हुका दिन सपनतीर्थमा स्नान गरी श्वेत गणेशको दर्शन गरेमा गम्भीर रोगव्याधि निको हुने र पारिवारिक सुखशान्ति मिल्ने धार्मिक जनविश्वास रहेको छ। जात्रालाई सभ्य र सुमधुर रूपमा सम्पन्न गर्न तलेजुका मूल नाइके हेमराज श्रेष्ठको संयोजकत्वमा १२३ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ। समितिअन्तर्गत विभिन्न उपसमितिहरू बनाएर जिम्मेवारी बाँडफाँड गरिएको छ।

    भक्तजनका लागि विशेष सुविधा जात्रामा आउने श्रद्धालु र भक्तजनहरूको सहजताका लागि नगरपालिकाले निम्न व्यवस्था मिलाएको छ: बाइपास बाटो र व्यवस्थित पार्किङको प्रबन्ध। निःशुल्क शुद्ध खानेपानी र सार्वजनिक शौचालय। सुरक्षा व्यवस्था र प्राथमिक स्वास्थ्य सेवा। व्यापारिक तथा मनोरञ्जन स्थलहरूको व्यवस्थापन। नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षहरूले जात्रालाई टोखाको गौरवकै रूपमा स्थापित गर्न स्थानीय क्लब, संघसंस्था र बाजा खलःहरूलाई एकजुट भएर लाग्न आह्वान गरेका छन्।

    टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठले विनियोजित १२ लाख रुपैयाँ बाजा मर्मत, तलेजु पूजा सञ्चालन र जीवित देवी कुमारी एवं गणेशको पालनपोषणमा समेत खर्च गरिने  बताउनुभयो।

    नगर प्रमुख प्रकाश अधिकारीले ‘विस्का: जात्रा’ टोखाको पहिचान र गौरवसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक सम्पदा भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनमा नगरपालिका सधैं प्रतिबद्ध रहेको बताउनुभयो।

    उहाँले भन्नुभयो,
    “विस्का: जात्रा हाम्रो इतिहास, संस्कृति र पहिचानसँग गाँसिएको अमूल्य सम्पदा हो। यसलाई व्यवस्थित, सुरक्षित र भव्य रूपमा सम्पन्न गर्न नगरपालिका पूर्ण रूपमा जिम्मेवार छ। सबै स्थानीयवासी, संघ–संस्था र युवा पुस्ताले पनि यसमा सक्रिय सहभागिता जनाउन आवश्यक छ।”

    स्थानीय जनप्रतिनिधिहरूले यो जात्रालाई केवल परम्परा होइन, टोखाको पहिचानका रूपमा जोगाउन सबैलाई एकजुट हुन आह्वान गरेका छन्।

    अन्ततः, विस्का: जात्रा केवल उत्सव होइन यो टोखाको आत्मा हो, जसले हरेक वर्ष नयाँ पुस्तालाई आफ्नो जरा सम्झाइरहन्छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै