काठमाडौँ, २७ चैत : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। अन्तरराष्ट्रिय बजारमा मूल्यमा भइरहेको उतारचढावका कारण मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ।
निगमका अनुसार आज राति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु १७ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु २५–२५ का दरले मूल्य बढाइएको छ। यसैगरी, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर रु १०० वृद्धि गरिएको छ भने हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर रु ६ ले बढाइएको छ।
नयाँ मूल्यसूचीअनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु २१९ पुगेको छ। डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु २०७ कायम भएको छ। त्यसैगरी, एलपी ग्यास प्रतिसिलिन्डर रु २,०१० पुगेको छ भने हवाई इन्धन (आन्तरिक) प्रतिलिटर रु २५७ निर्धारण गरिएको छ।
सरकारले भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिए पनि निगमको घाटा कम नभएकाले मूल्यवृद्धि गर्नुपरेको जनाइएको छ। निगमका अनुसार हालको समायोजनपछि पनि पाक्षिक रूपमा करिब रु ७ अर्ब ८१ करोड घाटा रहने अनुमान गरिएको छ।

