भक्तपुर, २६ चैतः प्रधानमन्त्री बालेन्द्र शाह ले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भई राष्ट्र सेवामा समर्पित हुन आग्रह गर्नुभएको छ।
भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गर्दै उहाँले करिब ३६ महिनाको कठिन प्रशिक्षण सफलतापूर्वक पूरा गरी अधिकृत पद प्राप्त गरेका क्याडेटहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
प्रधानमन्त्री शाहले मातृभूमि र जनताप्रति पूर्ण समर्पित भएर आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिँदै सैनिक आचरण, चेन अफ कमान्ड र अनुशासनभित्र रही कर्तव्यप्रति सदैव सजग रहनुपर्ने बताउनुभयो। फरक–फरक सामाजिक पृष्ठभूमिका जवानहरूको नेतृत्व गर्दै एकीकृत र सक्षम टोली निर्माण गर्न नवआयुक्त अधिकृतहरू सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो।
सो अवसरमा प्रधानमन्त्री शाहले उत्कृष्ट अधिकृत क्याडेटहरूलाई श्रेष्ठताको प्रतीक खुकुरी तथा छडी प्रदान गर्नुभयो। उहाँको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा १८३ अधिकृत क्याडेटहरूले आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेका थिए।
त्यसैगरी, प्रधान सेनापति अशोकराज सिग्देल ले मित्रराष्ट्र केन्या र जाम्बियाबाट तालिममा सहभागी तीन शिक्षार्थी अधिकृत क्याडेटलाई ‘नेपाली मिलिटरी एकेडेमी मेडालियन’ प्रदान गर्नुभयो।
नेपाली सैनिक प्रतिष्ठानबाट हालसम्म अधिकृत क्याडेट तथा पदिक र बिल्लादार अधिकृत क्याडेट गरी ६ हजार ७३४ जना तथा एक हजार ६०८ प्राविधिक अधिकृतहरूले सफलतापूर्वक तालिम पूरा गरिसकेका छन्। सन् २०१२ देखि विदेशी शिक्षार्थीहरूलाई समेत सहभागी गराउँदै तालिम सञ्चालन हुँदै आएको छ र हालसम्म ३२ विदेशी शिक्षार्थीहरूले तालिम सम्पन्न गरिसकेका छन्।
समारोहमा नवआयुक्त अधिकृतहरूलाई अभिभावक तथा आफन्तजनहरूले सुशोभन गरेका थिए।