काठमाडौँ, २३ चैतः सर्वोच्च अदालत ले केपी शर्मा ओली र रमेश लेखक सम्बन्धी मुद्दामा महत्वपूर्ण आदेश दिएको छ।
न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेल को इजलासले बिहीबारभित्र अनुसन्धान कार्य सम्पन्न नभएमा दुवैलाई हिरासतबाट मुक्त गर्न आदेश जारी गरेको हो।
अदालतले जिल्ला अदालतबाट चैत २२ गते दिइएको आदेशअनुसार तोकिएको समयभित्र अनुसन्धान पूरा गरी मुद्दा चलाउने वा नचलाउने निर्णय गर्नुपर्ने जनाएको छ। यदि उक्त समयावधिमा अनुसन्धान सम्पन्न हुन नसकेमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ अनुसार प्रक्रिया पूरा गरेर हिरासत मुक्त गर्नुपर्ने आदेशमा उल्लेख गरिएको छ।
यसअघि राधिका शाक्य र यशोदा लेखक ले गैरकानुनी थुनामा राखिएको दाबी गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो। तर अदालतले सो रिटमा भने तत्काल बन्दीप्रत्यक्षीकरण आदेश जारी गर्न नमिल्ने ठहर गरेको छ।
अदालतको यस आदेशसँगै अनुसन्धान प्रक्रिया तोकिएको समयसीमाभित्र टुंग्याउने वा हिरासत मुक्त गर्ने दुवै विकल्प सम्बन्धित निकायका लागि खुला गरिएको छ।

