नविना श्रेष्ठ
चैत २२, २०८२, नेपाल स्काउट बागमती प्रदेशकाे आयोजनामा सुर्यबिनायक नगरपालिकामा रहेकाे प्रदेश स्काउट तालिम केन्द्रमा एडभान्स तालिम सुरु भएको छ। २०८२ चैत २० गतेदेखि सुरु भएको उक्त तालिमको उद्घाटन बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालले गर्नुभएको हो। तालिममा बागमती प्रदेशका ९ जिल्लाबाट ५० जना स्काउट तथा स्काउटरहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। स्काउटहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा समाजसेवामा सक्रियता बढाउने उद्देश्यले उक्त एडभान्स तालिम सञ्चालन गरिएको हो। उद्घाटन समारोहमा प्रमुख अतिथि मन्त्री उर्मिला नेपालले स्काउट तालिमले युवाहरूमा अनुशासन, आत्मनिर्भरता र सेवाभाव विकास गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभयो। उहाँले यस्ता तालिमले दक्ष, जिम्मेवार र राष्ट्रप्रति समर्पित नागरिक निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। तालिम अवधिभर सहभागीहरूलाई नेतृत्व विकास, टोली व्यवस्थापन, प्राथमिक उपचार, विपद् व्यवस्थापन, वातावरण संरक्षण तथा सामाजिक सेवासम्बन्धी विषयमा सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण प्रदान गरिनेछ। साथै, क्याम्पिङ, हाइकिङ, फायर मेकिङ तथा अन्य बाह्य गतिविधिहरू समेत सञ्चालन गरिने तलिमका कोर्ष लिडर राम गोपाल कर्माचार्यले बताउनु भयो। तालिममा सहभागी स्काउटर मिलन कायस्थले यस्तो तालिमले आफूलाई व्यवहारिक जीवनमा उपयोगी सीप सिक्ने अवसर प्रदान गरेको बताए। “यस तालिममार्फत नेतृत्व विकास, टोलीमा काम गर्ने तरिका र समस्या समाधान गर्ने सीप सिक्न पाउँदा निकै उत्साहित छु,” उनले भने। त्यस्तै, स्काउटर पुण्यश्वरी सुलुले यस्तो तालिमले आत्मविश्वास बढाउन ठूलो मद्दत पुगेको उल्लेख गर्दै आगामी दिनमा अझ सक्रिय भएर स्काउट गतिविधिमा संलग्न हुने प्रतिबद्धता व्यक्त गरे। आयोजकका अनुसार तालिमले स्काउटहरूलाई व्यवहारिक सीपमा निपुण बनाउनुका साथै सामूहिक कार्य, समस्या समाधान र आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुर्याउनुका साथै प्रदेश अन्तर्गतको स्काउट गतिविधि र कार्यक्रम विकास र बिस्तार हुने बागमती प्रदेश स्काउटका प्रमुख शिव कुमार त्वायनाले बताउनुभयो।

