काठमाडौं, २२ चैत /काठमाडौँको उत्तर–पश्चिम क्षेत्र फुसिंख्यमा मनाइने मनमयजु अजिमा जात्रा यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। परम्पराअनुसार ल्हुती पुन्ही अर्थात (बालाजु बाइसधारा मेला) सुरु भएको दिनदेखि चार दिनसम्म यो जात्रा मनाउने गरिन्छ।
चैत शुक्ल पूर्णिमाको दिन बिहानै स्थानीय भक्तजनहरू जामाचो डाँडा पुगेर दर्शन गरी फर्किएपछि बालाजु बाइसधारा मा स्नान गर्ने परम्परा छ। सोही दिनबाट मनमयजु अजिमा जात्रा विधिवत् सुरु हुन्छ।
स्थानीयका अनुसार, इन्द्रायणी मन्दिर सँग सम्बन्धित यो जात्राको विशेषता भनेको अजिमा स्वयं धामीका रूपमा प्रकट हुने विश्वास हो। धामीमा अजिमाको शक्ति जागृत भएर उनीहरूले जात्रामा नेतृत्व गर्ने परम्परा प्राचीनकालदेखि चलिआएको छ।
जात्राको क्रममा धामीले पारम्परिक पहिरन लगाएर अजिमाको पात्र समात्दै रथ अगाडि बढाउने गर्दछन्। बाटोभरि स्थानीयहरूले समयबजि चढाएर पूजा गर्ने र धामीहरू कम्पनसहित अघि बढ्ने दृश्य जात्राको मुख्य आकर्षण मानिन्छ।
जात्राको पहिलो दिन अजिमा मन्दिरमा विशेष पूजा गरी बोको बलि दिने र धामीहरूले रगत ग्रहण गर्ने परम्परा छ। त्यसपछि दोस्रो दिन ‘मु: जात्रा’ र तेस्रो दिन ‘सुलं:’ मनाइन्छ। अन्तिम दिन नगर परिक्रमा गराई देवतालाई पुनः देवघरमा भित्र्याइन्छ।
रथयात्रामा गणेद्यः अग्रभागमा रहन्छन्। गुठीका मूल थकालीले गणेद्यःलाई बोकेर जात्राको नेतृत्व गर्ने परम्परा छ। रथलाई कुनै पनि स्थानमा नबिसाई निरन्तर अघि बढाउने चलन विशेष मानिन्छ।
सधैंझैँ यस वर्षको जात्रामा पनि कुमारीसहित अन्य देवताका पात्रहरू बालबालिकाले बोकेर सहभागी भएका थिए। साथै, तारकेश्वर नगरपालिका–९ र १० क्षेत्रमा विराजमान मनमयजु अजिमा जात्रामा गणेश धामी र अजिमा धामीसहित १३ वटा देवस्थान (झिंस्वम्ह द्य:)को सहभागिता रहेको बताइएको छ।
स्थानीय गुठियारहरूका अनुसार, यो जात्रा परापूर्वकालदेखि समुदायको सहयोगमा सञ्चालन हुँदै आएको भए पनि सरकारी वा स्थानीय तहबाट पर्याप्त सहयोग प्राप्त हुन सकेको छैन।
मनमयजु अजिमा काठमाडौँबाट ल्हासा (तिब्बत) जाने प्राचीन मार्गमा पर्ने महत्वपूर्ण शक्तिपीठका रूपमा पूजिने गरिन्छ, जसले यस जात्रालाई ऐतिहासिक र सांस्कृतिक दृष्टिले अझ महत्वपूर्ण बनाएको छ।

