• TOKHA LIVE

    • २२ चैत्र २०८२, आईतवार २१:२३

    पत्रकार पाण्डेको ‘द एभरेस्ट ड्रिम’ को ‘प्रिमियर’ कार्यक्रम सम्पन्न

    काठमाडौँ, २२ चैतः ‘ट्रमाटिक ब्रेन इन्जुरी’ (मस्तिष्कमा गम्भीर चोट) भोगेका बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित डकुमेन्ट्री फिल्म The Everest Dream को ‘प्रिमियर’ सम्पन्न भएको छ।

    आज नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) मा उक्त डकुमेन्ट्रीको प्रिमियर गरिएको हो। कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रब फेन लगायतको उपस्थिति रहेको थियो।

    ‘ब्रेन इन्जुरी’बाट बाँचेका व्यक्तिहरूले सगरमाथा बेस क्याम्पसम्म पुग्ने लक्ष्यसहित गरेको असाधारण यात्रालाई समेटिएको यस फिल्मको निर्देशन पत्रकार तथा फिल्म निर्देशक गणेश पाण्डेले गर्नुभएको हो। करिब डेढ वर्षको मेहनतपछि तयार भएको फिल्मले गम्भीर दुर्घटनापछि जीवनसँग संघर्ष गरिरहेका व्यक्तिहरूले आशा र आत्मविश्वासका साथ नयाँ सपना पछ्याएको कथा प्रस्तुत गर्दछ।

    द लिटिल शेर्पा फाउण्डेशनका जेम्स ल्याम्बको नेतृत्वमा पाँच जना बिरामी र परिवारसहित सात जनाको टोलीले सगरमाथा बेस क्याम्पसम्मको यात्रा पूरा गरेका थिए। चिकित्सकले सामान्य जीवनमा फर्किन कठिन हुने बताए पनि उनीहरूले नेपाल आएर उक्त चुनौतीपूर्ण यात्रा पूरा गरेको विषय फिल्ममा समेटिएको छ।

    फिल्ममा स्कटल्याण्डबाट सुरु भएको यात्रा, काठमाडौँ आगमन र खुम्बु क्षेत्र हुँदै बेस क्याम्पसम्मको भावनात्मक तथा चुनौतीपूर्ण पदयात्रा चित्रण गरिएको छ। उचाइ, थकान र स्वास्थ्य समस्याबीच पनि उनीहरूले एकअर्काको साथ र शेर्पा गाइडहरूको सहयोगमा अघि बढ्ने प्रयास देखाइएको छ।

    निर्देशक पाण्डेले भन्नुभयो, “यो फिल्मले मस्तिष्कमा गम्भीर चोटपछि पनि जीवनमा नयाँ सपना देख्न सकिन्छ भन्ने सन्देश दिन्छ।” कार्यक्रममा बेलायती राजदूत रब फेनले फिल्मलाई अत्यन्त प्रेरणादायी कथा भन्दै प्रशंसा गर्नुभयो।

    यसैगरी University of Southern Californiaकी प्राध्यापक जेनिफर कूलले पनि डकुमेन्ट्रीबाट आफू प्रभावित भएको बताउनुभयो।

    निर्देशक पाण्डेका अघिल्ला डकुमेन्ट्रीहरू पनि अन्तरराष्ट्रियस्तरमा सफल भएका छन्। उहाँको भाग्यले बाँचेकाहरू ले १७ भन्दा बढी अन्तरराष्ट्रिय पुरस्कार जितेको छ भने Co-Husband ले एक दर्जनभन्दा बढी अवार्ड जित्दै ४० भन्दा बढी अन्तरराष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शन भइसकेको छ।

    आज प्रदर्शित फिल्ममा एसोसिएट निर्मात्री शारदा गैरे, क्यामेरापर्सन सुरेश श्रेष्ठ र निरज पन्थी, सम्पादक ईश्वर कोइराला, सङ्गीतकार जुगल डङ्गोल र सन्दीप सरदार तथा ‘न्यारेटर’ कौशल घिमिरेको योगदान रहेको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै