काठमाडौं, २२ चैत । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, यो निर्णय भोलिदेखि नै सम्पूर्ण सरकारी कार्यालय र सबै शैक्षिक संस्थाहरूमा लागू हुनेछ।
मन्त्रिपरिषद् बैठकले महत्त्वपूर्ण विकास परियोजनाका लागि दातृ निकायबाट कुल १८ करोड ५० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ।
शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, ‘डिजिटल नेपाल ट्रान्सफरमेसन’ परियोजनाका लागि एसियाली विकास बैंक र विश्व बैंकबाट ९ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिने निर्णय भएको छ।
यसैगरी, ‘दिगो र समावेशी वित्त’ परियोजनाका लागि विश्व बैंकबाट थप ९ करोड ५० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गरिनेछ।

