काठमाडौँ, २२ चैतः नेपालको प्रतिनिधिसभाको दसौँ सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ। प्रतिनिधिसभाको आजको बैठकबाट उहाँ सभामुख पदमा सर्वसम्मत रूपमा चयन हुनुभएको हो।
बैठकमा रवि लामिछानेले ‘प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। उक्त प्रस्तावलाई सांसद सोविता गौतम, स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन गर्नुभएको थियो।
सभाको अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदका लागि एक मात्र प्रस्ताव दर्ता भएकाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो।
नवनिर्वाचित सभामुख अर्याल यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो।

