• TOKHA LIVE

    • २० चैत्र २०८२, शुक्रबार २०:१५

    ऊर्जामन्त्री श्रेष्ठद्वारा विद्युत् नीतिमाथि आन्तरिक छलफल सुरु

    काठमाडौँ, २० चैत : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ ले विद्युत् नीतिमाथि आन्तरिक छलफल सुरु गर्नुभएको छ ।

    आज सम्पन्न छलफलमा मन्त्री श्रेष्ठले समग्र ऊर्जा क्षेत्रको विकास, संरचनागत तथा संस्थागत सुधार, ऊर्जा उपयोग र वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

    उहाँले विद्युत् नीति तयार पार्दा ऊर्जा क्षेत्रसँग सम्बन्धित सम्पूर्ण तथ्य र तथ्याङ्क स्पष्ट रूपमा समेटिने गरी अघि बढ्न मातहतका निकायलाई निर्देशन दिनुभयो । साथै, नीतिको मस्यौदामाथि सरोकारवालासँग व्यापक छलफल गर्दै दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    मन्त्री श्रेष्ठले गुणस्तरीय ऊर्जा आपूर्ति सुनिश्चित गर्ने, आन्तरिक खपत बढाउने, ऊर्जा समिश्रण सन्तुलित बनाउने तथा जलवायु परिवर्तनका प्रभावलाई सम्बोधन गर्ने विषयलाई नीतिमा समावेश गर्नुपर्ने बताउनुभयो । ‘लस एन्ड ड्यामेज’ र ‘कार्बन ट्रेड’ जस्ता विषयहरू पनि नीतिको प्राथमिकतामा पर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    उहाँका अनुसार आगामी दिनमा बन्ने ऐन तथा कानुनका लागि विद्युत् नीति नै मुख्य दिशानिर्देशक हुने भएकाले भविष्यका चुनौतीलाई ध्यानमा राख्दै सुदृढ र व्यवहारिक नीति आवश्यक रहेको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै