काठमाडौँ, २० चैत / नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रतिबन्धित अनलाइन सट्टेबाजी एप तथा प्लेटफर्ममार्फत कुनै पनि प्रकारको कारोबार नगर्न पुनः सर्वसाधारणलाई सचेत गराएको छ।
ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठ का अनुसार सरकारले यसअघि नै यस्ता सट्टेबाजी प्लेटफर्महरू बन्द गरिसकेको हुँदा त्यस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरिएको हो।
ब्यूरोले चेतावनी दिँदै यस्तो गतिविधि गरेको पाइए प्रयोग भएका उपकरणसमेत जफत गरिने स्पष्ट पारेको छ। साथै, मुलुकी अपराध संहिता २०७४ अनुसार यस्ता कार्य फौजदारी कसुर अन्तर्गत पर्ने भएकाले संलग्न व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिने र दोषी ठहरिए कैद, जरिवाना वा दुवै सजाय हुन सक्ने जनाइएको छ।
त्यसका साथै, सट्टेबाजीबाट आर्जित रकमसमेत जफत गरिने ब्यूरोले जनाएको छ।
ब्यूरोले बन्द गरिएका कुनै पनि सट्टेबाजी एप वा प्लेटफर्म प्रयोग नगर्न र यस्ता गतिविधि कतै भइरहेको थाहा पाएमा सम्बन्धित निकायलाई जानकारी गराउन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ।

