• TOKHA LIVE

    • २० चैत्र २०८२, शुक्रबार ०६:०८

    दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्ने तयारीमा काठमाडौँ महानगरपालिका

    काठमाडौँ, २० चैत / काठमाडौँ महानगरपालिका (कामपा) ले एम्बुलेन्स सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्ने तयारी थालेको छ।

    कामपाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल का अनुसार ट्राफिक जामका कारण चारपाङ्ग्रे एम्बुलेन्स ढिलो पुग्ने अवस्थालाई ध्यानमा राख्दै मोटरसाइकलमार्फत स्वास्थ्यकर्मीलाई छिटो बिरामीसम्म पुर्‍याउने उद्देश्यले यो सेवा सुरु गर्न लागिएको हो।

    उहाँले सम्बन्धित निकायसँग प्रारम्भिक छलफल सम्पन्न भइसकेको जानकारी दिँदै आपतकालीन अवस्थामा स्वास्थ्यकर्मीलाई तत्काल घटनास्थलमा पुर्‍याउने संयन्त्र विकास गर्न स्वास्थ्य विभागलाई निर्देशन दिइएको बताउनुभयो।

    “एम्बुलेन्स बोलाएपछि त्यो कहाँ छ, को–को छन् भन्ने जानकारी बिरामीका आफन्तले पाउने प्रणाली पनि विकास गर्नुपर्छ,” उहाँले भन्नुभयो, “सवारी चापका कारण ढिलाइ हुने अवस्थालाई मोटरसाइकल एम्बुलेन्सले समाधान गर्न सक्छ।”

    छलफलका क्रममा स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसीले उपत्यकाभित्रका अन्य स्थानीय तहसँग सहकार्य गरी सेवा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। त्यस्तै, वित्त विभाग प्रमुख डा. शिवराज अधिकारीले लागत घटाउँदै गुणस्तरीय सेवा दिने विषयमा थप अध्ययन आवश्यक रहेको बताउनुभयो।

    एम्बुलेन्स सेवा टोलीका सदस्य डा. आशिष श्रेष्ठ र कार्यालय प्रमुख अमित जोशीका अनुसार कामपासँगको सहकार्यपछि हालसम्म ८४ हजार ४८९ जनाले सेवा लिइसकेका छन्। सो अवधिमा ६९ जना गर्भवतीले एम्बुलेन्समै शिशु जन्म दिएका थिए।

    कोभिड–१९ महामारीका समयमा मात्रै २३ हजार ५०० जनालाई सेवा प्रदान गरिएको थियो। हाल कामपाका सात, कीर्तिपुर अस्पताल, ललितपुरको सातदोबाटो र भक्तपुरको सल्लाघारीमा एम्बुलेन्स राखेर सेवा सञ्चालन भइरहेको छ।

    सम्पर्क गरेको आठ मिनेटभित्र एम्बुलेन्स बिरामीसम्म पुग्ने मापदण्डअनुसार उपत्यकामा कुल ४९ वटा एम्बुलेन्स आवश्यक पर्ने अध्ययनले देखाएको छ। सवारी चापबाट उत्पन्न चुनौती समाधानका लागि रणनीतिक योजना आवश्यक रहेको पनि छलफलमा जोड दिइएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै