लिस्ती (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–१ स्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल लिस्तीकोटमा चैते दशैँको पावन अवसरमा विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रमहरू सम्पन्न भएका छन् । बिहीबार (१२ चैत) उग्रचण्डी माईको विशेष पूजा–अर्चनासँगै मन्दिरमा ‘लिस्ती–किपु नेवा समूह’ द्वारा एक जोडी सिंहको प्रतिमा मन्दिर परिसरमा स्थापना गरिएका हुन् ।
लिस्ती उग्रचण्डी गुठी व्यवस्थापन समितिको आयोजना तथा नेवाः देय् दबू भोटेकोशी गाउँ कार्यसमितिको सहकार्यमा आयोजित उक्त कार्यक्रममा ‘लिस्ती–किपु नेवा समूह’ द्वारा सिंहको प्रतिमा मन्दिर परिसरमा स्थापना गरिएकाे नेवाः देय् दबू भोटेकोशीका अध्यक्ष कर्ण प्रधानले जानकारी दिनुभयाे ।

सोही अवसरमा मन्दिर परिसरमा वृक्षारोपण गरिनुका साथै अध्यक्ष प्रधानकाे सकृयतामा परम्परागत धार्मिक विधिअनुसार बर र पिपलको विवाह कार्य समेत उल्लासमय वातावरणमा सम्पन्न गरिएको छ ।
लिस्ती उग्रचण्डी गुठी व्यवस्थापन समितिका अध्यक्ष शंकर प्रधानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भोटेकोशी गाउँपालिका वडा नं. १ का वडा सदस्य रूपक प्रधान प्रमुख अतिथिका रूपमा रहनुभएको थियो ।
कार्यक्रममा नेवाः देय् दबूका केन्द्रीय सचिव हरिकुमार श्रेष्ठ, नेवाः देय् दबू भोटेकोशीका अध्यक्ष कर्ण प्रधान, लिस्ती माई गुठी सेवा समितिकी अध्यक्ष चमेरी प्रधान र सिन्धु युनेस्कोका अध्यक्ष रवीन्द्र कक्षपतिलगायतको विशेष उपस्थिति रहेको थियो ।

धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा विकसित हुँदै गरेको लिस्तीकोटमा भएको यस कार्यक्रममा स्थानीय समुदाय, सञ्चारकर्मी र दर्शनार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । यस कार्यले लिस्तीकोटको धार्मिक गरिमा बढाउनुका साथै सांस्कृतिक संरक्षणमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।

