काठमाडौँ, १९ चैतः प्रतिनिधिसभाका सभाध्यक्ष अर्जुननरसिंह केसी ले राजनीतिक स्थिरता, सुशासन र विधिको शासन स्थापना गर्न सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले २०१५ सालको पहिलो संसदीय निर्वाचनदेखि हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनसम्म आइपुग्दा लोकतान्त्रिक अभ्यासले महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्नुभयो । जनताको अपेक्षाअनुसार शासन प्रणालीमा आमूल परिवर्तन आवश्यक रहेको उहाँको जोड थियो ।
सभाध्यक्ष केसीले नवगठित प्रतिनिधिसभाप्रति जनताको ठूलो भरोसा रहेको उल्लेख गर्दै सरकार मात्र होइन, शासन सञ्चालनको संस्कार र संस्कृति परिवर्तन गर्नु आजको आवश्यकता भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री वालेन्द्र शाह तथा मन्त्रिपरिषद्का सदस्यहरूलाई बधाई दिँदै सरकारले अघि सारेको १०० बुँदे सुधार कार्यक्रमलाई सकारात्मक कदमको रूपमा लिनुभयो ।
उहाँले लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य भएको उल्लेख गर्दै सत्तापक्ष र प्रतिपक्षबीच रचनात्मक सहकार्य आवश्यक रहेको बताउनुभयो । “वाद, प्रतिवाद र संवाद नै लोकतन्त्रको आत्मा हो,” उहाँले भन्नुभयो ।
संवैधानिक संस्थाहरूको निष्पक्षता, पारदर्शिता र विश्वसनीयता सुदृढ गर्नुपर्नेमा जोड दिँदै उहाँले संसद्लाई प्रभावकारी बनाउन शिष्ट, मर्यादित र जिम्मेवार व्यवहार आवश्यक रहेको धारणा राख्नुभयो ।
गरिबी, बेरोजगारी, महँगी र सामाजिक असमानतालाई साझा चुनौतीका रूपमा औँल्याउँदै सभाध्यक्ष केसीले यस्ता समस्याको समाधानका लागि संसद्ले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । संविधानको मर्मअनुसार समावेशीता, समानता र जनसत्ता सुदृढ गर्न सबै पक्ष एकजुट हुनुपर्ने उहाँको भनाइ छ ।
नवगठित सरकार र प्रतिनिधिसभामार्फत जनताका अपेक्षा पूरा हुने विश्वास व्यक्त गर्दै उहाँले सहकार्य, संवाद र समझदारीमार्फत बाँकी संसदीय प्रक्रिया सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
यसैबीच, सभामुखको निर्वाचन नभएसम्म प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रूपमा अर्जुननरसिंह केसी ले बैठकको अध्यक्षता गर्नुभएको हो ।

