• TOKHA LIVE

      TOKHA LIVE

    • १९ चैत्र २०८२, बिहीबार १७:४५

    जिम्मेवारी पूरा गरेर मतादेशको ऋण तिर्नेछौँः रवि लामिछाने

    काठमाडौँ, १९ चैतः राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले जनताले दिएको मतादेशको ऋण जिम्मेवारी पूरा गरेर तिर्ने बताउनुभएको छ ।

    प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा बोल्दै उहाँले आफूहरूलाई जनताले सिंहदरबार चलाउन होइन, बदल्नका लागि मत दिएको स्पष्ट गर्नुभयो ।

    “हामी प्रश्न गरेर यो ठाउँमा आएका हौँ । बोलेर होइन, कामबाट आफूलाई प्रमाणित गर्नुपर्छ,” उहाँले भन्नुभयो, “यो संसद् बहसको थलो हुनेछ, प्रतिशोधको होइन । प्रतिपक्षमाथि अन्यायपूर्ण व्यवहार हुने छैन, तर सुशासनको गति पनि रोकिनेछैन ।”

    उहाँले विगतका कमजोरीबाट सिक्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै कानुनलाई कसैलाई बचाउन वा फसाउन प्रयोग गर्ने प्रवृत्ति अन्त्य हुने जिकिर गर्नुभयो । सहिद परिवारले न्याय पाउनु पहिलो अधिकार भएको उल्लेख गर्दै त्यसलाई प्रतिशोधको रूपमा लिन नहुने धारणा राख्नुभयो ।

    सभापति लामिछानेले बिचौलिया र माफियाबाट प्रभावित निजी क्षेत्रलाई मुक्त गर्दै समान अवसर र स्वस्थ व्यावसायिक वातावरण सिर्जना गरिने बताउनुभयो । साथै, जातीय तथा लैङ्गिक विभेद अन्त्य गर्ने, ज्येष्ठ नागरिकको सम्मान बढाउने र बालबालिकाको शिक्षा–स्वास्थ्यमा विशेष ध्यान दिने प्रतिबद्धता जनाउनुभयो ।

    राजनीतिक नियुक्तिमा पारदर्शिता र योग्यताको आधार लागू गरिने बताउँदै उहाँले विगतमा नियुक्ति पाएकाहरूलाई स्वेच्छिक रूपमा मार्गप्रशस्त गर्न आग्रह गर्नुभयो । राजदूत नियुक्ति समेत बिचौलियाको प्रभावबाट मुक्त गरी श्रमिकमुखी बनाइने उहाँको भनाइ छ ।

    त्यस्तै, गैरआवासीय नेपालीको पुँजी, सीप र अनुभवलाई राष्ट्रिय विकासमा उपयोग गर्ने र प्रतिपक्षलाई साथमा लिएर मित्रवत् तथा पारदर्शी परराष्ट्र नीति अवलम्बन गर्ने उहाँले उल्लेख गर्नुभयो ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै