काठमाडौँ, १९ चैत : आजदेखि देशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ। यस वर्ष परीक्षा थप पारदर्शी, व्यवस्थित र छिटो नतिजा प्रकाशन गर्ने लक्ष्यसहित नयाँ निर्देशिका लागू गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले देशभर एकै समयमा बिहान ८ बजेदेखि परीक्षा सञ्चालन गरेको हो। परीक्षा नियन्त्रक टुकराज अधिकारी का अनुसार यस वर्ष अनियमितता घटाउने विशेष व्यवस्था गरिएको छ।
यस वर्षको परीक्षामा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका छन्। तीमध्ये ४ लाख ४१ हजार ५६६ नियमिततर्फ र ७० हजार ८५५ ग्रेड वृद्धितर्फका परीक्षार्थी रहेका छन्। परीक्षामा छात्राको संख्या बढी छ—२ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना सहभागी छन्। जापानस्थित एक केन्द्रबाट समेत २३ जनाले परीक्षा दिइरहेका छन्।
देशभर १,९६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने ११,३७९ विद्यालयका विद्यार्थी सहभागी भएका छन्। प्रश्नपत्र जनक शिक्षा सामग्री केन्द्र लिमिटेड मार्फत सबै प्रदेशमा पठाइसकिएको छ। प्रत्येक परीक्षा केन्द्रमा सुरक्षा तथा व्यवस्थापनका लागि प्रहरी, केन्द्राध्यक्ष, निरीक्षक र कर्मचारीको व्यवस्था गरिएको छ।
यस वर्ष परीक्षा सकिएको बढीमा तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गर्ने लक्ष्य राखिएको छ। परीक्षण केन्द्रमै परीक्षक र संपरीक्षकले उत्तरपुस्तिका जाँच गर्नुपर्नेछ। सिसिटिभी जडान भएका सुरक्षित कक्षमा परीक्षण गरिनेछ भने मोबाइलजस्ता उपकरण प्रयोगमा प्रतिबन्ध लगाइएको छ।
अनियमितता रोक्न उत्तरपुस्तिका बाहिर लैजान नपाइने, तोकिएका परीक्षकबाहेक अन्यले जाँच गर्न नपाउने तथा लापरवाही भएमा कारबाही गरिने व्यवस्था गरिएको छ।
यस वर्ष परीक्षा केन्द्रमा हुने सामूहिक अनुगमन पूर्ण रूपमा निषेध गरिएको छ। अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ।
पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ। त्यसपछि:
परीक्षा चैत २९ गते सम्पन्न हुनेछ।

