• TOKHA LIVE

    • १८ चैत्र २०८२, बुधबार २१:०३

    नयाँ वर्षमा दशौँ भक्तपुर महोत्सव आयोजना हुने

    काठमाडौँ, १८ चैत : नयाँ वर्ष २०८३ तथा विस्काः जात्रा को अवसर पारेर भक्तपुर मा ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ आयोजना हुने भएको छ।

    औद्योगिक शान्ति नेपाल संस्थामध्यपुर ब्वाईज व्याण्ड को संयुक्त आयोजनामा महोत्सव सल्लाघारी मा चैत २६ गतेदेखि वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ।

    महोत्सवका संयोजक दिपक थापा का अनुसार भक्तपुरलाई उद्योग, संस्कृति र कृषि क्षेत्रको सङ्गमका रूपमा स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

    महोत्सवमा १८० भन्दा बढी प्रदर्शनीकक्ष रहनेछन्, जहाँ खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला सामग्रीसँगै औद्योगिक उत्पादन, सूचना प्रविधि, अटोमोबाइल, कृषि औजार, इलेक्ट्रोनिक्स र मोबाइल सामग्रीहरूको प्रदर्शनी तथा बिक्री गरिनेछ।

    विशेष आकर्षणका रूपमा ‘लन्डन बस’ को प्रतिकृति (स्ट्याचु) राखिनेछ भने बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउ लगायतका मनोरञ्जनात्मक खेलहरू पनि रहनेछन्। साथै खाना महोत्सव, फेसन शो, नृत्य, हास्यव्यङ्ग्य कार्यक्रम तथा राष्ट्रिय कलाकारहरूको दैनिक सांगीतिक प्रस्तुति (कन्सर्ट) आयोजना गरिनेछ।

    आयोजक संस्थाका अध्यक्ष सन्दिप महत का अनुसार महोत्सवले उद्योग, व्यापार, पर्यटन तथा सांस्कृतिक क्षेत्रको प्रवर्द्धन गर्नुका साथै स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्नेछ।

    महोत्सवअन्तर्गत वैशाख ५ र ६ गते विशेष सांगीतिक कार्यक्रम (कन्सर्ट) आयोजना गरिनेछ। आयोजकले महोत्सवमा रु पाँच करोडभन्दा बढीको आर्थिक कारोबार हुने र दुई लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरेका छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै