काठमाडौँ, १८ चैत : नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलिया विश्वभरका ट्राभल एजेन्सीहरूको छाता संस्था युनाइटेड फेडेरेसन अफ ट्राभल एजेन्ट्स एसोसिएसन (अफ्टा)को बोर्ड निर्देशकमा नियुक्त हुनुभएको छ।
सुनिलकुमार आर को अध्यक्षतामा सम्पन्न अफ्टाको वार्षिक साधारणसभाबाट थपलिया उक्त पदमा चयन हुनुभएको हो। विश्वका प्रतिष्ठित पर्यटन क्षेत्रका प्रतिनिधिहरू सहभागी हुने यस संस्थामा नेपालको सक्रिय उपस्थिति थप सुदृढ भएको मानिएको छ।
अध्यक्ष थपलियासँगै बोर्डमा चेतिन गुर्चुन (टर्की), दुमिन्दा कुरुविताच्र्ची (श्रीलङ्का), योसेफ फाताएल (इजरायल) र मेरिजेल मनोटोक (फिलिपिन्स) नियुक्त भएका छन्।
सन् १९६६ मा स्थापना भएको युनाइटेड फेडेरेसन अफ ट्राभल एजेन्ट्स एसोसिएसन विश्वभरका ट्राभल एजेन्सीहरूको अग्रणी छाता संस्था हो। यसमा ८ सयभन्दा बढी ट्राभल कम्पनी आबद्ध छन्। इटलीको मोनाको मा प्रधान कार्यालय रहेको अफ्टाले विश्वव्यापी हवाई उड्डयनसम्बन्धी मुद्दालाई प्रमुख एजेन्डाका रूपमा उठाउँदै आएको छ।

