• TOKHA LIVE

    • १६ चैत्र २०८२, सोमबार २२:०६

    आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने सरकारको तयारी

    काठमाडौँ, १६ चैत / सरकारले वैदेशिक रोजगारीका लागि दिइँदै आएको श्रम स्वीकृतिको टोकन प्रणाली अन्त्य गर्दै अब आवेदन दिएको दिनमै स्वीकृति प्रदान गर्ने तयारी गरेको छ।

    यसअघि सेवाग्राहीले टोकन लिएर तोकिएको मितिमा मात्र श्रम स्वीकृति लिनुपर्ने व्यवस्था थियो। आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहको उपस्थितिमा बसेको बैठकले प्रक्रिया सरल बनाउँदै सोही दिन स्वीकृति दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ।

    बैठकले पूर्व-प्रस्थान अभिमुखीकरण तालिमलाई पनि डिजिटल माध्यममा लैजाने निर्णय गरेको छ। अब उक्त तालिम पाठ्यक्रममा आधारित श्रव्य–दृश्य सामग्री तयार गरी अनलाइनमार्फत उपलब्ध गराइनेछ।

    त्यसैगरी, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई आवद्ध गराउने अभियान सञ्चालन गरिने तथा न्यूनतम ज्यालाको पूर्ण कार्यान्वयनमा जोड दिइने जनाइएको छ।

    मन्त्रालयका अनुसार ‘श्रमाधान’ योजनालाई थप प्रभावकारी बनाइनेछ भने कल सेन्टरलाई व्यवस्थित गरिनेछ। औद्योगिक प्रतिष्ठानमा जोखिम मूल्याङ्कन गरी व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा प्रवर्द्धन गरिने, उत्पादन तथा उद्यमशीलता बढाएर आन्तरिक रोजगारी सिर्जना गर्ने र थप पाँच मुलुकसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने निर्णय पनि गरिएको छ।

    मन्त्रिपरिषद्को चैत १३ गते स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमाथि समेत छलफल भएको मन्त्रालयले जनाएको छ। श्रम क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउँदै श्रमिकको हकहित संरक्षणका लागि ती कार्यसूची तत्काल कार्यान्वयनमा लैजान मन्त्री साहले निर्देशन दिएका छन्।

    यसैबीच, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा, न्यूनतम ज्याला, कार्यस्थलको अवस्था तथा स्वास्थ्य सुरक्षाबारे अध्ययन गरी न्यूनतम मापदण्ड तयार गर्ने तयारी गरिएको छ।

    त्यसैगरी, सबै प्रदेशमा निजी क्षेत्रसँग सहकार्य गर्दै सीप मेला सञ्चालन गर्ने, आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने, सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउने तथा वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न प्रभावकारी कदम चाल्ने योजना मन्त्रालयले अघि सारेको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै