नविना श्रेष्ठ
चैत १४, २०८२।
नेपालका धर्म, संस्कृति तथा सामाजिक विषयमा सक्रिय अनुसन्धाता सिद्धिबहादुर रन्जितकार द्वारा लिखित पाँचवटा पुस्तकहरू एकैपटक लोकार्पण गरिएको छ। “अनौठो यात्रा”, “नेपा: सभ्यता” र “अरनीको” लगायतका कृतिहरूको लोकार्पण नेपाल मण्डल सांस्कृतिक संरक्षण अभियान द्वारा आयोजित कार्यक्रममा सम्पन्न भएको हो।
कार्यक्रम काठमाडौंको बालुवाटारस्थित T-21 कफी शपको सभाहलमा आयोजना गरिएको थियो। एकैपटक पाँचवटा पुस्तक सार्वजनिक गरिँदा उपस्थित दर्शक तथा अतिथिहरू आश्चर्यचकित भएका थिए।
लेखक रन्जितकारले पुस्तकहरूमा धार्मिक, सांस्कृतिक, प्राकृतिक, कलात्मक तथा सामाजिक–ऐतिहासिक चाडपर्वका विषयमा अनुसन्धानमूलक सामग्री समेटेका छन्। नेपाली भाषामा मात्र सीमित हुँदा विदेशीले बुझ्न कठिन हुने भएकाले पुस्तकहरूमा अंग्रेजी भाषाको समेत प्रयोग गरिएको लेखकले जानकारी दिए, जसले बढ्दो विदेशी पर्यटकलाई पनि लक्षित गरेको छ।
कार्यक्रमका सभापति अभियानका अध्यक्ष, पत्रकार तथा सम्पादक कुमार रञ्जित रहेका थिए। अतिथिहरूमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत संस्कृति तथा इतिहास अभियान विभागकी पूर्व प्रमुख तथा प्राध्यापक डा. बिणा पौडेल, आकाशवाणी का पूर्व वरिष्ठ पत्रकार तथा लेखक प्रकाश प्रसाद उपाध्याय, इतिहासविद् डा. गोपाल धौबञ्जाज्य तथा लेखक–अनुवादक अणुराज जोशी सहभागी थिए।
कार्यक्रममा वक्ताहरूले पुस्तकमा समेटिएका कला, संस्कृति, धर्म र सभ्यताको पहिचानबारे प्रकाश पार्दै यस्ता अनुसन्धानमूलक कृतिहरूले नेपाली मौलिकता संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरे। कार्यक्रममा सभापति कुमार रञ्जितले अतिथिहरूलाई फुलमालाले स्वागत गर्दै मञ्चमा आसन ग्रहण गराएका थिए।

