काठमाडौँ, ३ चैतः कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको समर्थन मूल्य निर्धारण गर्न अध्ययन प्रक्रिया सुरु गरेको छ। किसानलाई उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यले विभागले देशका २५ जिल्लामा स्थलगत अध्ययन अघि बढाएको हो।
अध्ययनका क्रममा धान उत्पादनमा लाग्ने लागत, बीउ, मल, श्रम खर्च, मुद्रास्फीति तथा बजार मूल्यको समग्र विश्लेषण गरिनेछ। यी आधारमा उत्पादन लागतअनुसार न्यूनतम समर्थन मूल्य तय गरिने विभागले जनाएको छ।
विभागका महानिर्देशक प्रकाश सञ्जेलका अनुसार स्थलगत अध्ययनपछि तयार गरिने वैज्ञानिक मूल्य प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पेश गरिनेछ। मन्त्रिपरिषद्बाट स्वीकृति भएपछि मात्रै उक्त मूल्य आधिकारिक रूपमा सार्वजनिक हुनेछ।
उहाँले धानको चिस्यान मापदण्ड पनि मूल्य निर्धारणसँग जोडिने जानकारी दिँदै १८ प्रतिशतसम्म चिस्यान भएको धानमा तोकिएको मूल्य लागू हुने र सोभन्दा बढी भए तौल घटाएर मूल्याङ्कन गरिने बताउनुभयो।
सरकारले निर्धारण गरेको समर्थन मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत धान खरिद गरिनेछ। गत वर्ष सरकारले प्रतिक्विन्टल दुई हजार ८०० रुपैयाँ समर्थन मूल्य तोकेको थियो।

