टोखा, काठमाडौँ, २ चैत : टोखाको मौलिक परम्परा, जात्रा तथा पर्व–संस्कृतिलाई जोगाउन र निरन्तरता दिन महत्वपूर्ण योगदान पुर्याउँदै आएका विभिन्न सांस्कृतिक खलःपुचलाई टोखा मिनीफन पार्क ले सम्मान गरेको छ।
टोखामा सञ्चालन हुँदै आएको सांस्कृतिक गतिविधिलाई थप सक्रिय र जीवन्त बनाउने उद्देश्यसहित टोखा केब ट्रेड एण्ड इन्भेस्टमेन्ट प्रा.लि. ले आफ्नो ११ औँ वार्षिकोत्सव कार्यक्रमको अवसर पारेर स्थानीय बाजा तथा भजन खलःलाई सम्मान गरेको हो।
कार्यक्रममा गर्मीको बेला स्विमिङ पुलमा खेल्न आमन्त्रित गर्दै टोखाको मौलिक संस्कृति जोगाउने विभिन्न बाजा तथा भजन खलःका संस्कृतिकर्मीहरुलाई केबमा पचास प्रतिशत छुटको व्यवस्था गरेको आयोजकले घोषणा गरेका हुन् ।
सम्मान कार्यक्रममा टोखाको मौलिक बाजा परम्परालाई जोगाइरहेका इन्द्रायणी दाफा भजन खलः, पिगंद्य दापा खलः सहलुबी, सपनतिर्थ दापा खलः, जोरभिमसेन दाफा भजन खलः, चण्डेश्वरी दापा खलः, चण्डेश्वरी भजन खलः, धां खलः, धिमे खलः, नायखी बाजा खलः, प्वः खल लगायत विभिन्न सांस्कृतिक समूहलाई सम्मान गरिएको थियो।
टोखाको सांस्कृतिक जीवन्तता जोगाउन विभिन्न बाजा र भजन खलःले खेलेको भूमिकालाई स्मरण गर्दै आयोजना गरिएको यो कार्यक्रमले स्थानीय संस्कृतिप्रति थप सम्मान र प्रेरणा जगाउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि तथा तारकेश्वर नगरपालिका–२ का वडाध्यक्ष एवं नगर प्रवक्ता राधाकृष्ण खड्गीले टोखा जस्तो ऐतिहासिक र सांस्कृतिक नगरको पहिचान जोगाउन यस्ता बाजा तथा भजन खलःको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। “संस्कृति जोगियो भने मात्र समाजको पहिचान जीवित रहन्छ,” उनले भने, “नयाँ पुस्तालाई पनि यस्ता सांस्कृतिक परम्परासँग जोड्न स्थानीय समुदाय, संघसंस्था र निजी क्षेत्र सबैको सहकार्य आवश्यक छ।”
कार्यक्रममा केबका सञ्चालन तथा सम्पदा दबुका अध्यक्ष मनिराज डंगोलले स्वागत मन्तव्य राख्दै टोखाको सांस्कृतिक सम्पदा केवल इतिहासको विषय मात्र नभई समाजको जीवनशैली र पहिचान भएको बताए। उनले यस्ता सांस्कृतिक समूहलाई सम्मान गर्नु भनेको सम्पूर्ण समुदायको गौरवलाई सम्मान गर्नु भएको उल्लेख गरे।
त्यसैगरी टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ ले टोखामा पुस्तौँदेखि चल्दै आएका बाजा, भजन र दाफा परम्पराले यहाँको सामाजिक एकता र सांस्कृतिक चेतनालाई मजबुत बनाएको बताए। “यी खलःहरू केवल बाजा बजाउने समूह मात्र होइनन्, टोखाको आत्मा हुन्,” उनले भने।
कार्यक्रममा केबकी महिला सदस्य सुमिता महर्जन ले आफ्ना अनुभव सुनाउँदै संस्कृति जोगाउने अभियानमा महिला सहभागिता पनि उत्तिकै महत्वपूर्ण रहेको बताइन्। उनले समुदायले मिलेर सांस्कृतिक गतिविधिलाई निरन्तरता दिँदा मात्रै मौलिक परम्परा जोगाउन सकिने धारणा राखिन्।
कार्यक्रमको समापनमा टोखा केब ट्रेड एण्ड इन्भेस्टमेन्ट प्रा.लि. का अध्यक्ष सुशान्त डंगोलले टोखाको पहिचान बनेका यी सांस्कृतिक समूहले वर्षौँदेखि निरन्तर रूपमा बाजा, भजन र परम्परागत सांस्कृतिक कार्यक्रममार्फत समाजमा मौलिक संस्कृतिको ज्योति बालिरहेकाले उनीहरूको योगदानलाई कदर गर्दै सम्मान गर्न पाउँदा आफूहरू गौरवान्वित भएको बताए।
कार्यक्रम सञ्चालन समाजसेवी गजराज श्रेष्ठ ले गरेका थिए।
आयोजकका अनुसार यस्ता कार्यक्रमले टोखाको मौलिक संस्कृति जोगाउने अभियानलाई थप ऊर्जा र प्रेरणा दिने विश्वास गरिएको छ।कार्यक्रम विशिस्ट अतिथि टाेखाका मुल नायो हेमराज श्रेष्ठ, त्रिभुवन युनिभर्सिटी प्रा. बाबुलाल भण्डारी लगायत टाेखाका विभिन्न खलपुच का प्रतिनिधि , संस्कृतिकर्मीहरु, पत्रकार लगायतको उपस्थिति रहेकोे थियो ।
के छ टाेखा केब मिनिफन पार्कमा ?
टोखामा ‘केबा स्विमिङ पुल तथा फन पार्क’ : मनोरञ्जन, आराम र परिवारिक घुमफिरको आकर्षक गन्तव्य बनेको छ। गर्मीयामको तातो मौसममा केही समय पानीसँग खेल्दै मनलाई ताजा बनाउने चाहना धेरैको हुन्छ। यही चाहनालाई मध्यनजर गर्दै टोखामा सञ्चालनमा रहेको केबा स्विमिङ पुल तथा फन पार्क अहिले परिवारसहित रमाइलो गर्ने आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ।
प्राकृतिक वातावरणको काखमा रहेको यस स्थलमा आउने आगन्तुकले केही समयका लागि दैनिक व्यस्तता र तनाव बिर्सेर रमाइलो समय बिताउन सक्छन्। घामको उज्यालो ऊर्जा महसुस गर्दै स्विमिङ पुलमा पौडिँदा मन पनि हल्का हुने र शरीर पनि ताजगीले भरिने अनुभव यहाँ पाइन्छ।
यहाँ ठूलो आकारको मुख्य स्विमिङ पुल, ढल्किएको पुल, बालबालिकाका लागि छुट्टै बेबी पुल, डाइभिङ क्षेत्र, स्लाइडिङ पुल र रोमाञ्चक वाटर स्लाइडजस्ता आकर्षक संरचना छन्। बालबालिकाका लागि छुट्टै स्प्ल्यास जोन पनि बनाइएको छ। साथै प्रमाणित लाइफगार्डको उपस्थितिमा स्विमिङ तालिम सञ्चालन हुने व्यवस्था गरिएको छ।
पानीसँगको रमाइलो मात्र होइन, यहाँ बोटिङ, मिनी लाइब्रेरी र मिनी संग्रहालय जस्ता थप आकर्षणसमेत रहेका छन्।
केब परिसरभित्र रहेको फन पार्क पनि आगन्तुकका लागि विशेष आकर्षणको केन्द्र बनेको छ। बालबालिकाका लागि फन जोन, पिङ, स्लाइड, डोरी चढ्ने खेल, खेलमैदान तथा बार्बेक्यु सहितको पिकनिक स्थलको व्यवस्था गरिएको छ। प्रकृति प्रेमीहरूका लागि हिँड्ने ट्रेलसमेत बनाइएको छ।
आगन्तुकको सुविधा र सुरक्षालाई ध्यानमा राख्दै यहाँ डुब्नबाट जोगाउने सुरक्षा व्यवस्था, पुल फेन्सिङ, स्विमिङ तालिम तथा विभिन्न पुल खेलकुद गतिविधि सञ्चालन गरिन्छ। साथै सफा चेंजिङ रुम, नुहाउने स्थान, शौचालय, स्न्याक बार, पार्किङ, संगीत तथा इन्टरनेट सुविधा पनि उपलब्ध छन्। ह्विलचेयर प्रयोगकर्ताका लागि पहुँचयोग्य संरचना, होमस्टे, हाइकिङ, सेमिनार हल, रेस्टुरेन्ट तथा फिल्मिङ र भिडियो सुटिङका लागि समेत सुविधा प्रदान गरिएको छ।
सञ्चालकका अनुसार स्विमिङ सिक्न चाहनेका लागि विभिन्न तालिम प्याकेज उपलब्ध छन्। बिगिनर प्याकेजअन्तर्गत ७ दिनको आधारभूत कोर्स रु १,५००, १० दिनको प्रोग्रेसिभ कोर्स रु २,५००, १५ दिनको इन्टरमिडियट कोर्स रु ३,५०० र ३० दिनको एड्भान्स कोर्स रु ७,००० निर्धारण गरिएको छ।
त्यसैगरी मासिक प्याकेजअन्तर्गत १ महिनाका लागि रु ४,०००, १५ दिनका लागि रु २,५००, १० दिनका लागि रु १,५०० र ७ दिनका लागि रु १,००० शुल्क तोकिएको छ।
गर्मीयाममा परिवार, साथीभाइ र बालबालिकासहित केही समय प्रकृतिको काखमा रमाउँदै पानीसँग खेल्ने र मनलाई ताजगी दिन चाहनेहरूका लागि टोखा केब स्विमिङ पुल तथा फन पार्क उपयुक्त गन्तव्य बन्ने विश्वास गरिएको छ।

