• TOKHA LIVE

    • १ चैत्र २०८२, आईतवार १८:३७

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि

     

     

    काठमाडौँ, १ चैत : ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र समुदायको सहभागिता’ नाराका साथ आजदेखि देशभर वन डढेलो व्यवस्थापन सप्ताह सुरु भएको छ।
    वन तथा वातावरण मन्त्रालयका अनुसार वन डढेलो व्यवस्थापन रणनीति–२०६७ अनुसार प्रत्येक वर्ष चैत १ देखि ७ गतेसम्म यो सप्ताह मनाइँदै आएको हो। वन क्षेत्रमा लाग्ने डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना बढाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।
    यस अवसरमा वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँले डढेलो नियन्त्रणमा जनचेतना अत्यन्त महत्त्वपूर्ण हुने बताउनुभएको छ। उहाँले सबै डिभिजन वन कार्यालय, वन उपभोक्ता समूह, विकास तथा संरक्षण साझेदार संस्था तथा सम्बन्धित निकायलाई आफ्ना क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभएको छ।
    मन्त्रालयका अनुसार सप्ताहका क्रममा जनचेतनामूलक अभियान, समुदाय तथा विद्यालयस्तरीय अभिमुखीकरण, स्थानीय सञ्चारमाध्यममार्फत सूचना प्रवाह, जोखिमयुक्त क्षेत्रको अनुगमन, वन क्षेत्रमा अग्निरेखा निर्माण र सरसफाइजस्ता गतिविधि सञ्चालन गरिनेछ।
    वन तथा भूसंरक्षण विभागका महानिर्देशक धिरेन्द्रकुमार प्रधानका अनुसार पछिल्ला वर्षमा डढेलो देशका सबै प्रदेशमा फैलिएको देखिएको छ। विशेषगरी सुदूरपश्चिम, बागमती र कर्णाली प्रदेशमा यसको जोखिम बढी रहेको बताइएको छ।
    तराई–चुरे र मध्यपहाडी वन क्षेत्रमा डढेलोको जोखिम अझ उच्च रहेको विभागले जनाएको छ। नेपालमा सुक्खायाम सुरु भएसँगै विशेषगरी फागुनदेखि जेठसम्म वनमा डढेलो लाग्ने सम्भावना बढी रहने गर्छ।
    डढेलोका कारण वन स्रोत, जैविक विविधता, वातावरणीय सन्तुलन, जलस्रोत, मानव स्वास्थ्य तथा जनधनमा गम्भीर असर पर्ने भएकाले समयमै पूर्वतयारी, समन्वय र जनचेतना अभिवृद्धि अत्यावश्यक रहेको विभागले जनाएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै