काठमाडौँ, ३० फागुनः गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको विवरण सार्वजनिक गरिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आन्दोलनका बेला विभिन्न अस्पतालमा उपचार गरिएका घाइतेहरूको नामसहितको विवरण सङ्कलन गरी सार्वजनिक गरेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो।
मन्त्रालयका अनुसार देशभरका ९९ अस्पतालमा जम्मा दुई हजार ६३८ जना घाइतेको उपचार गरिएको तथ्याङ्क प्राप्त भएको छ। सबै अस्पतालबाट विवरण सङ्कलन गर्ने क्रममा केही अस्पतालबाट जानकारी आउन ढिलो भएकाले विवरण सार्वजनिक गर्न समय लागेको प्रवक्ता बुढाथोकीले बताउनुभयो।
उहाँका अनुसार सङ्कलित सबै विवरण गृह मन्त्रालयलाई पठाइसकिएको छ। विवरणअनुसार गत असोज ३१ गते दुई हजार ५२२ जना, माघ ४ गते ७७ जना र फागुन २९ गते थप ३९ जना घाइतेको विवरण गृह मन्त्रालयमा पठाइएको हो।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै ४५८ जना घाइतेको उपचार नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा गरिएको छ। त्यस्तै, नेपाल पुलिस अस्पतालमा २०३ जना, राष्ट्रिय ट्रमा सेन्टरमा १९० जना र त्रिवि शिक्षण अस्पतालमा १०८ जना घाइतेको उपचार गरिएको थियो।

