काठमाडौँ, २९ फागुनः सम्झौताअनुसार समय सकिँदा पनि सम्बन्धित कम्पनी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिका ले बस बिसौनीहरूमा राखिएका विज्ञापन सामग्री हटाउन सुरु गरेको छ।
सार्वजनिक–निजी साझेदारी (PPP) अवधारणाअन्तर्गत त्रिलोक संरचना प्रालि ले ३९ वटा बस बिसौनीमा विज्ञापन राखेको थियो। सम्झौता अवधि सकिएपछि महानगरले सोलारसहित जडान गरिएका २५ वटा बस बिसौनीका विज्ञापन बोर्ड हटाउने काम थालेको हो।
महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशी का अनुसार महानगरले विसं २०६९ भदौ १४ मा उक्त कम्पनीसँग पहिलो पटक सम्झौता गरेको थियो। त्यसपछि विसं २०७१ चैत २६ मा पहिलो पटक र विसं २०७८ साउन २५ मा दोस्रो पटक सम्झौता नवीकरण गरिएको थियो।
“सम्झौताबमोजिम काम नभएपछि विज्ञापन बोर्ड हटाउन तथा पुनः राख्न नदिने व्यवस्थाका लागि राजस्व विभागबाट पत्र प्राप्त भएपछि हामीले हटाउन थालेका हौँ,” प्रमुख जोशीले भन्नुभयो। उहाँका अनुसार विज्ञापन हटाउने कार्यलाई निरन्तरता दिइनेछ।
वरिष्ठ राजस्व अधिकृत प्रदीप कोइराला का अनुसार पछिल्लो सम्झौताअनुसार महानगरले विज्ञापन करको दर बढाएको थियो। सोही अनुपातमा कम्पनीले वार्षिक कर तिर्नुपर्ने भए पनि अहिलेसम्म भुक्तानी नगरेको बताइएको छ।
उहाँका अनुसार विसं २०८२ वैशाख ११ गते वृद्धि भएको कर तिर्न पत्राचार गरिए पनि हालसम्म रकम बुझाइएको छैन। हालसम्म कर तथा रोयल्टी गरी कुल रु १६ लाख १३ हजार २२४ बाँकी रहेको छ।
आर्थिक वर्ष २०७८/७९ मा विज्ञापनको दर प्रतिस्क्वायर फिट रु ७०० रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा बढाएर प्रतिस्क्वायर फिट रु १,००० पुर्याइएको थियो। बाँकी रकममध्ये विज्ञापन कर रु १५ लाख ८३ हजार ९३९ र रोयल्टी रु २९ हजार २८५ अझै दाखिला हुन बाँकी रहेको जनाइएको छ।

