काठमाडौँ, २८ फागुन: प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा खटिएका निर्वाचन प्रहरीको आज औपचारिक रूपमा बिदाइ गरिएको छ। प्रहरी वृत्त गौशालाद्वारा आयोजित कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले प्रमाणपत्र प्रदान गर्दै निर्वाचन प्रहरीलाई बिदाइ गर्नुभयो।
कार्यक्रममा उहाँले निर्वाचन अवधिभर प्रहरीहरूले देखाएको अनुशासन, इमान्दारिता र समर्पण सराहनीय रहेको बताउँदै शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन उनीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
प्रहरी वृत्त गौशालाका प्रमुख तथा प्रहरी नायब उपरीक्षक प्रकाश सिरमलले पनि निर्वाचन सुरक्षामा खटिएका प्रहरी कर्मचारीले जिम्मेवार ढङ्गले कर्तव्य निर्वाह गरेको बताउनुभयो।
प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन सुरक्षाका लागि काठमाडौँमा ३,८५४, भक्तपुरमा १,०९३ र ललितपुरमा १,५९६ निर्वाचन प्रहरी परिचालन गरिएको थियो।

