• TOKHA LIVE

      TOKHA LIVE

    • २८ फाल्गुन २०८२, बिहीबार १९:४९

    बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

     

     

    काठमाडौँ, २८ फागुन : देशका विभिन्न सहरमा पछिल्ला दिनमा तापक्रम बढ्न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमशः बढ्दै गएको देखिएको छ।
    विभागका अनुसार तराई तथा मधेसका धेरै सहरमा तापक्रम बढ्दो क्रममा छ। राजधानी काठमाडौँमा फागुन २६ गते २०–२२ डिग्री सेल्सियस रहेको अधिकतम तापक्रम शनिबार २४ डिग्री पुगेको थियो भने आज मध्यान्हसम्म २५.४ डिग्री सेल्सियस पुगेको छ। आज रातिको न्यूनतम तापक्रम भने १५–१७ डिग्री सेल्सियस हाराहारीमा रहने अनुमान गरिएको छ।
    यसैबीच आज मध्यान्हसम्म सबैभन्दा बढी तापक्रम सिराहा र बाँकेमा ३१.१ डिग्री सेल्सियस मापन गरिएको छ। मनाङको हुम्दे विमानस्थलमा भने अधिकतम तापक्रम ३.२ डिग्री सेल्सियस रहेको छ।
    विभागका अनुसार आज विराटनगरमा ३१–३३ डिग्री सेल्सियस र नेपालगञ्जमा ३०–३२ डिग्री सेल्सियस तापक्रम पुग्ने अनुमान गरिएको छ। गण्डकी प्रदेशको पोखरामा २६–२८ डिग्री सेल्सियस तथा हिमाली क्षेत्रको जुम्लामा २३–२५ डिग्री सेल्सियस पुग्ने अनुमान छ। जोमसोममा भने १७–१९ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना रहेको छ।
    मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले देशका अधिकांश स्थानमा मौसम सफा रहेको छ। हावाको आर्द्रता बढेसँगै तापक्रम पनि बढ्दै गएको उहाँले बताउनुभयो। विभागका अनुसार आगामी तीन दिन देशका अधिकांश सहरमा दिउँसोको तापक्रम क्रमशः बढ्ने तथा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै