बागमती, २८ फागुनः बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले प्रदेश सरकारअन्तर्गतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई निकट भविष्यमा विश्वविद्यालयको रूपमा विकास गरिने बताउनुभएको छ।
प्रतिष्ठानअन्तर्गत रहेको हेटौँडा अस्पताल मा २०० शय्याको विशिष्टकृत सेवासहितको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार अहिले प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरूले प्रमाणपत्र लिँदासम्ममा मदन भण्डारी स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना हुने अपेक्षा गरिएको छ।
मुख्यमन्त्री बानियाँले लोकतन्त्र गरिबमुखी व्यवस्था भएकाले नागरिकलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। हेटौँडा अस्पतालमा आवश्यक जनशक्ति र भौतिक पूर्वाधारको अभाव हुन नदिने तथा प्रतिष्ठानमार्फत प्रदेशका १३ वटै जिल्लाका अस्पतालमा विशेषज्ञ सेवा विस्तार गर्नुपर्ने उहाँको भनाइ थियो।
स्वास्थ्य क्षेत्रमा सुधार गर्दै नागरिकलाई सहज र गुणस्तरीय सेवा दिन प्रदेश सरकार प्रयासरत रहेको उल्लेख गर्दै उहाँले हेटौँडा अस्पतालमा यसअघि जडान गरिएका १४ वटा डाइलोसिस मेसिनमा थप १६ वटा थपेर कुल ३० वटा पुर्याइएको जानकारी दिनुभयो।
बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा मगर ले प्रदेशअन्तर्गतका अस्पताल तथा स्वास्थ्य संस्थामा औषधि र उपकरणको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। गरिब परिवारका छोराछोरीलाई डाक्टर बन्न छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको र उपचारको अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो।
कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल तथा पूर्व स्वास्थ्यमन्त्री एकालाल श्रेष्ठ ले अस्पताल भवन निर्माणसँगै सेवा विस्तारमा सहजता आउने विश्वास व्यक्त गर्नुभयो।
सहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख इञ्जिनियर भूपेन्द्रकुमार यादवका अनुसार सो भवन भ्याटसहित रु २६ करोड ६४ लाख २५ हजार २८० को लागतमा निर्माण गरिएको हो।

