काठमाडौँ, २७ फागुन। काठमाडौँलगायत देशका प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेपछि नेपाल प्रहरीले नागरिकलाई आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ।
प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले वायु प्रदूषण बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै नागरिकलाई स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन र सतर्कता अपनाउन आज सार्वजनिक सूचना जारी गरिएको जानकारी दिनुभयो।
नेपाल प्रहरीले जारी गरेको छ बुँदे अनुरोधमा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन आग्रह गरिएको छ। साथै सवारीसाधनको प्रयोग कम गर्न सकेसम्म समूहमा मिलेर यात्रा गर्न वा एकअर्कालाई ‘लिफ्ट’ दिन, वरिपरि फोहर वा अन्य वस्तु आगो लगाएर नजलाउन तथा वायु प्रदूषण उच्च भएको समयमा बाहिरी गतिविधि कम गर्न पनि अनुरोध गरिएको छ।
प्रहरीले विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूलाई थप सतर्कता अपनाउन आग्रह गरेको छ। बाहिर निस्कँदा अनिवार्य रूपमा मास्क प्रयोग गर्न र श्वासप्रश्वाससम्बन्धी कुनै समस्या देखिएमा तत्काल नजिकैको अस्पताल, स्वास्थ्य केन्द्र वा चिकित्सकसँग सम्पर्क गर्न पनि आग्रह गरिएको प्रवक्ता काफ्लेले बताउनुभयो।
हाल मौसममा आएको बदलीसँगै काठमाडौँ उपत्यकासहित सहरी क्षेत्रमा वायु प्रदूषणको मात्रा बढिरहेको छ। यस अवस्थामा स्वास्थ्यको विशेष ख्याल गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समेत सबैमा अनुरोध गरेको छ।

