• TOKHA LIVE

    • २७ फाल्गुन २०८२, बुधबार १७:२०

    जावलाखेल चिडियाखानामा ११२ प्रजातिका १ हजार २७३ जीवजन्तु

    ललितपुर, २७ फागुन । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालित जावलाखेलस्थित सदर चिडियाखानामा हाल ११२ प्रजातिका १ हजार २७३ जीवजन्तु रहेका छन्।
    यो चिडियाखाना तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेर राणा ले विसं १९८९ मा व्यक्तिगत रूपमा स्थापना गर्नुभएको थियो। पछि सर्वसाधारणका लागि खुला गरिएको थियो।
    चिडियाखाना प्रशासनका अनुसार यहाँ रहेका जीवजन्तुको संख्या नयाँ जन्मिने, मर्ने तथा जङ्गलबाट उद्धार गरी ल्याइने कारणले समय–समयमा घटबढ हुने गर्छ।
    चिडियाखानामा सबैभन्दा लामो आयु भएको जनावर ‘पवनकली’ नामको हात्ती रहेको छ, जसको उमेर ७६ वर्ष पुगेको सूचना अधिकारी गणेश कोइरालाले जानकारी दिनुभयो। सामान्यतया हात्तीको औसत आयु ७० देखि ८० वर्ष हुने बताइएको छ।
    यहाँ रहेका चार बाघमध्ये ‘बगौरा’ नामको बाघ सबैभन्दा बढी १५ वर्षको छ। त्यस्तै तीन गैँडामध्ये ‘बाङ्गे’ नामको गैँडा १४ वर्षको रहेको चिडियाखानाले जनाएको छ।
    कम आयु भएका जीवजन्तुमा मुसा पर्दछन्। मुसाको औसत आयु पाँचदेखि छ वर्ष हुने बताइएको छ। चिडियाखानामा मुसा र खरायोजस्ता साना जनावर उत्पादन गरी हप्तामा एकपटक अजिङ्गरलाई आहाराका रूपमा दिने गरिन्छ।
    अजिङ्गरलाई कहिलेकाहीँ प्राकृतिक परीक्षणका लागि यस्तो आहार दिनुपर्ने भएकाले चिडियाखानामै उत्पादन गरिएका मुसा र खरायो प्रयोग गरिने गरिएको प्रशासनले जनाएको छ।
    चिडियाखानामा रहेका जीवजन्तु बिरामी परेमा उनीहरूलाई छुट्टै क्वारेन्टाइनमा राखेर उपचार गर्ने व्यवस्था गरिएको छ। यद्यपि अधिकांश जनावरका लागि चिडियाखानाको वातावरण पूर्ण रूपमा अनुकूल नहुँदा प्रजनन दर भने कम हुने गरेको प्रशासनको भनाइ छ। प्राकृतिक जङ्गलको वातावरण प्रजननका लागि बढी अनुकूल हुने बताइएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै