• TOKHA LIVE

    • २६ फाल्गुन २०८२, मंगलवार १८:४१

    पत्रकारिता र साहित्यमा अमिट छाप छोडेर विदा भए सुरेशकिरण मानन्धर

    काठमाडौँ, २६ फागुन २०८२।
    भाषा आयोग का सदस्य तथा वरिष्ठ पत्रकार एवं साहित्यकार सुरेशकिरण मानन्धर को ५७ वर्षको उमेरमा सोमबार हृदयघातका कारण निधन भएको छ।
    सोमबार साँझ काठमाडौँको खुसिबुस्थित एक बैंक्वेटमा भाञ्जीको विवाह समारोहमा सहभागी भएका मानन्धर आफन्तहरूसँग हाँस्दै–बोल्दै रमाइरहेका थिए। तर खुसीको त्यो क्षण अचानक शोकमा परिणत भयो। भोजकै क्रममा उहाँलाई एक्कासि हृदयघात भएपछि तत्काल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो। तर त्यहाँ पुग्दासम्म उहाँको निधन भइसकेको चिकित्सकले जनाएका थिए। पारिवारिक विवाह कार्यक्रमका कारण उहाँको निधनको खबर मंगलबार साँझ मात्र सार्वजनिक गरिएको हो।
    वि.सं. २०२३ कात्तिक २३ गते जन्मिएका मानन्धरले आफ्नो जीवनको अधिकांश समय पत्रकारिता र साहित्य सिर्जनामै समर्पित गर्नुभयो। झन्डै चार दशकदेखि नेपालभाषा पत्रकारितामा सक्रिय रहँदै उहाँ विभिन्न पत्रपत्रिकामा स्तम्भकारका रूपमा पनि परिचित हुनुहुन्थ्यो। उहाँका लेखहरू नेपाल समाचारपत्र लगायत विभिन्न दैनिक पत्रपत्रिकामा नियमित रूपमा प्रकाशित हुँदै आएका थिए।
    पछिल्लो डेढ वर्षदेखि उहाँ भाषा आयोग का सदस्यका रूपमा कार्यरत हुनुहुन्थ्यो। साथै उहाँले रेडियो नेपाल, नेपाल टेलिभिजन र राष्ट्रिय समाचार समिति मा नेपालभाषा समाचारका विज्ञका रूपमा सहजीकरण गर्दै आउनुभएको थियो।
    मानन्धरले २०४५ सालमा वरिष्ठ पत्रकार मल्ल के सुन्दर सम्पादक रहेको ‘इनाप’ साप्ताहिक र विश्वभूमि दैनिकबाट पत्रकारिता यात्रा सुरु गर्नुभएको थियो। २०४६ सालको जनआन्दोलन २०४६ का क्रममा काठमाडौँ कडा सुरक्षा घेरामा रहेका बेला उहाँले गणेशमान सिंह सँग चिकित्सकको भेषमा पुगेर वीर अस्पतालमा लिएको अन्तर्वार्ताले जनआन्दोलनको सन्देश जनतामाझ पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको स्मरण पत्रकार सुजीव बज्राचार्य ले गर्नुभयो।
    त्यसपछि उहाँले नेपालभाषा पत्रकारितालाई निरन्तरता दिने अभियानकै रूपमा नयाँ विश्वभूमि दैनिक, सन्ध्या टाइम्स र नेपालभाषा टाइम्स दैनिकमा सम्पादकका रूपमा कार्य गर्दै पत्रकारितामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो।
    पत्रकारिता र साहित्य क्षेत्रमा योगदान पुर्‍याएवापत उहाँ पारिजात सिर्जनशील पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, जरिमैंया पुरस्कार र गोविन्द वियोगी पत्रकारिता पुरस्कार लगायतका सम्मानबाट पुरस्कृत हुनुभएको थियो।
    वरिष्ठ पत्रकार किशोर श्रेष्ठ ले मानन्धरलाई पत्रकारिता र साहित्यका बहुआयामिक प्रतिभा भन्दै देशले ठूलो क्षति बेहोरेको बताउनुभयो।
    मानन्धरको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौँको विजेश्वरीस्थित नेपालभाषा मंका खलः भवनमा बुधबार बिहान ९ बजेदेखि १२ बजेसम्म राखिने परिवारले जनाएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै