काठमाडौँ, २६ फागुन : प्रहरी महानिरीक्षक दानबहादुर कार्की ले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन प्रहरीले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ।
सोमबार नेपाल पुलिस क्लब मा आयोजित कार्यक्रममा उहाँले निर्वाचन सुरक्षामा खटिएका सम्पूर्ण प्रहरी कर्मचारीले उच्च मनोबल, जिम्मेवारीबोध र सामूहिक भावनासहित काम गरेको उल्लेख गर्नुभयो।
सीमित साधनस्रोत र भौतिक पूर्वाधारको अभावका बाबजुद पनि प्रहरीले ऐतिहासिक रूपमा शान्त र व्यवस्थित ढंगले निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण योगदान दिएको उहाँको भनाइ थियो।
प्रहरीको सक्रियता र योजनाबद्ध कार्यसम्पादनकै कारण समाजमा शान्तिसुरक्षा कायम राख्न सम्भव भएको उल्लेख गर्दै उहाँले सबै प्रहरी कर्मचारीको प्रशंसा गर्नुभयो। साथै आगामी दिनमा सहकार्य र समन्वयलाई अझ बलियो बनाउँदै सुरक्षा व्यवस्थापन थप मजबुद बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।
प्रहरी पेसा मात्र नभई सेवा पनि भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कार्कीले सेवाभाव, इमानदारी, अनुशासन र उच्च व्यावसायिकता कायम राख्दै सामूहिक भावना र भातृत्वका साथ जिम्मेवारी निर्वाह गर्न सबै प्रहरी कर्मचारीलाई आग्रह गर्नुभयो।

