• TOKHA LIVE

    • २६ फाल्गुन २०८२, मंगलवार ०८:५८

    भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरलाई हृदयाघात, अवस्था चिन्ताजनक

    काठमाडौं, फागुन २६ ,२०८२ ।
    भाषा आयोगका सदस्य तथा नेपालभाषाका वरिष्ठ साहित्यकार एवं आधुनिक कवि सुरेश किरण मानन्धरलाई हृदयाघात भएको छ।
    काठमाडौंको एक कार्यक्रममा सहभागी भइरहेका बेला सोमबार साँझ उहाँलाई अचानक हृदयाघात भएपछि तत्काल त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियाक सेन्टर, महाराजगञ्जमा उपचारका लागि लगिएको बताइएको छ।
    परिवारका सदस्यहरूका अनुसार हाल उहाँको अवस्था चिन्ताजनक रहेको छ।
    नेपालभाषा पत्रकारितामा लामो समयदेखि सक्रिय मानन्धरले यसअघि सन्ध्या टाइम्स र नेपालभाषा टाइम्सका सम्पादकका रूपमा काम गर्नुभएको थियो। त्यसैगरी उहाँ विश्वभूमि, अप्सरा फिल्म म्यागेजिन, कोशल्वहँ जस्ता कविता–प्रधान पत्रिकासँग पनि आबद्ध रहनुभएको थियो। साथै उहाँ नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने साहित्यिक प्रकाशनको सम्पादन मण्डलमा समेत संलग्न रहनुभएको थियो।
    मानन्धरले राष्ट्रिय प्रतिभा पुरस्कार, पारिजात सिर्जनशील पुरस्कार, धर्मादित्य धर्माचार्य पत्रकारिता पुरस्कार लगायत विभिन्न सम्मान प्राप्त गर्नुभएको छ।
    नेपालभाषा साहित्यमा उहाँलाई एक प्रमुख आधुनिक कविका रूपमा चिनिन्छ। हाल उहाँले घण्टाघरस्थित एक संस्थामा सक्रिय रूपमा काम गरिरहनुका साथै पद्मरत्न तुलाधरको जीवनीसम्बन्धी पुस्तक सम्पादन गर्ने कार्यमा पनि संलग्न हुनुहुन्थ्यो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै