काठमाडौँ, २५ फागुनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीको नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीलाई जनअपेक्षाअनुसार पुनःगठन गर्न अपिल गर्नुभएको छ।
रुपन्देही–२ बाट उम्मेदवार भएर पराजित भएका पौडेलले विज्ञप्तिमार्फत विगतका गल्ती र कमजोरीको समीक्षा गरी पार्टीलाई रूपान्तरण गर्न आग्रह गर्नुभएको हो। उहाँले लोकतन्त्रको सुन्दरता जनताको अभिमतमा रहेको भन्दै मतदाताको निर्णय सविनय र सहर्ष स्वीकार गर्ने पनि बताउनुभयो।
पौडेलले यस निर्वाचनमा विजयी हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई हार्दिक बधाई दिंदै क्षेत्रका जनताको अपेक्षाअनुसार विकास र समृद्धि अघि बढाउने आशा व्यक्त गर्नुभयो। साथै, मतदान गरेर विश्वास देखाउने मतदाताप्रति हार्दिक सम्मान व्यक्त गर्नुभयो।

