काठमाडौँ, २५ फागुन : प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय अग्रता कायम गरेको छ । हालसम्म सार्वजनिक १६१ निर्वाचन क्षेत्रको नतिजाअनुसार रास्वपाका १२४ उम्मेदवार विजयी भएका छन् ।
निर्वाचन आयोगका अनुसार आज दिउँसो १ बजेसम्मको विवरणअनुसार रास्वपाले एक निर्वाचन क्षेत्रमा अग्रता कायम राखेको छ ।
त्यसैगरी नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने एक स्थानमा अग्रता लिइरहेको छ । नेकपा (एमाले) आठ स्थानमा विजयी भएको छ र एक स्थानमा अगाडि रहेको छ ।
आयोगका अनुसार नेकपा (नेकपा) का सात उम्मेदवार विजयी भएका छन् । श्रम संस्कृति पार्टीका तीन उम्मेदवार विजयी भएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एक स्वतन्त्र उम्मेदवारले एक–एक स्थानमा जित हात पारेका छन् ।
उता समानुपातिकतर्फ फागुन २१ गते सम्पन्न निर्वाचनको मतगणनामा हालसम्म ८६ लाख ५३ हजार ४१६ मत गणना भइसकेको छ । त्यसमा रास्वपाले ४१ लाख ८० हजार ३२२ मत प्राप्त गरेको छ ।
त्यसैगरी नेपाली कांग्रेसले १३ लाख ९७ हजार ८७४, एमालेले ११ लाख ८० हजार ७९४, नेकपाले छ लाख १४ हजार ३६०, श्रम संस्कृति पार्टीले तीन लाख चार हजार ५७१ तथा राप्रपाले दुई लाख ८३ हजार २२१ मत प्राप्त गरेका छन् ।

