• TOKHA LIVE

    • २५ फाल्गुन २०८२, सोमबार २०:३८

    गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारीलाई कामपाको आग्रह

    काठमाडौँ, २५ फागुन : काठमाडौं महानगरपालिका (कामपा) ले गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थाहरूलाई आग्रह गरेको छ।
    कामपाले केही सहकारीहरूले विदेशी नागरिकलाई सदस्य बनाएर आर्थिक कारोबार गर्ने गरेको गुनासो प्राप्त भएको भन्दै यस्तो कार्य तत्काल बन्द गर्न सबै सहकारी संस्थालाई आग्रह गरेको हो।
    कामपा सहकारी विभागका प्रमुख धुव्रकुमार काफ्ले का अनुसार गैरनेपाली नागरिकलाई सहकारी संस्थाको सदस्य बनाउनु कानुनविपरीत हो। उहाँले प्रचलित नियमअनुसार मात्रै आर्थिक कारोबार सञ्चालन गर्न सहकारीहरूलाई सचेत गराउनुभएको छ।
    महानगरले आफ्नो आग्रहलाई बेवास्ता गरे प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ। सहकारी ऐन २०७४ को दफा ३० तथा काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ को दफा २० मा सहकारी संस्थामा नेपाली नागरिक मात्र सदस्य हुन सक्ने स्पष्ट व्यवस्था गरिएको काफ्लेले जानकारी दिनुभयो।
    त्यसैगरी, सहकारी ऐन २०७४ को दफा ५० तथा महानगर सहकारी ऐनको दफा ३९ मा सहकारी संस्थाले सदस्य केन्द्रित भएर बचत तथा ऋण कारोबार सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।
    काफ्लेले लामो समयदेखि साधारणसभा नगरेका र प्रतिवेदन नबुझाएका सहकारीलाई तुरुन्तै खारेजी प्रक्रियामा नलाने पनि बताउनुभयो। प्रक्रियाबाहिर रहेका सहकारीलाई एक्कासि खारेजीमा लैजाँदा बचतकर्ताको रकम जोखिममा पर्न सक्ने भएकाले महानगरले पहिले प्रतिवेदन बुझाउन लगाउने र त्यसपछि मात्रै खारेजी प्रक्रिया अघि बढाउने नीति लिएको विभागको भनाइ छ।
    खारेजी प्रक्रियामा जाने कुनै पनि सहकारीमा सबैभन्दा पहिले बचतकर्ताको विवरण यकिन हुनुपर्ने तथा आर्थिक कारोबारको अवस्था स्पष्ट हुनुपर्ने जनाइएको छ।
    कामपाले दुई महिनाअघि नै सूचनामार्फत तोकिएको समयमा प्रतिवेदन पेश नगर्ने र साधारणसभा नगर्ने सहकारीलाई निष्क्रिय घोषणा गरी कानुनी कारबाही गरिने चेतावनी दिइसकेको छ।
    हाल काठमाडौं महानगरपालिका अन्तर्गत करिब एक हजार ९०० सहकारी संस्था सञ्चालनमा रहेका छन्। तीमध्ये सबैभन्दा धेरै बचत तथा ऋण सहकारी रहेको महानगरले जनाएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै