काठमाडौँ, २५ फागुनः यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ ।
निर्वाचन सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण वातावरण कायम राख्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायबीच समन्वय गरेर सुरक्षा व्यवस्था मिलाइएको थियो ।
मतदानको दिनदेखि मतगणनाको चरणसम्म प्रभावकारी सुरक्षा प्रबन्ध गरिएकाले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग पुगेको महानिरीक्षक कार्कीले बताउनुभयो ।
निर्वाचनमा खटिएका प्रहरीले जिम्मेवारीका साथ आफ्नो कार्यसम्पादन गरेको पनि उहाँले उल्लेख गर्नुभयो ।

