काठमाडौँ, २५ फागुनः अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले खेलाडीहरूले गरेको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एन्फाले आज प्रेस विज्ञप्ति जारी गर्दै सातदोबाटोस्थित आफ्नो केन्द्रीय कार्यालयमा गरिएको तालाबन्दीका कारण प्रशासनिक कामकाज प्रभावित भएको उल्लेख गर्दै सम्बन्धित पक्षलाई तत्काल तालाबन्दी खोल्न आग्रह गरेको छ।
नेपाल फुटबल खेलाडी सङ्घ ले विभिन्न माग राख्दै आइतबार उक्त तालाबन्दी गरेको हो। सङ्घका अनुसार केही खेलाडीहरूले तलब, भत्ता, पुरस्कार रकम, प्रतियोगिता भत्ता तथा खेलाडी कल्याण कोषसम्बन्धी माग राख्दै तालाबन्दी गरेका हुन्।
एन्फाले भने खेलाडीहरूले उठाएका मागहरू सम्बन्धित नियम र प्रक्रियाअनुसार समाधान गर्ने प्रयास भइरहेको जनाएको छ। विज्ञप्तिमा ए डिभिजन क्लबका खेलाडीहरू राष्ट्रिय टोलीमा सहभागी हुँदा पाउने भत्ता र सेवा–सुविधासम्बन्धी व्यवस्था स्पष्ट रूपमा उल्लेख गरिएको पनि जनाइएको छ।
साथै एन्फाले पुरस्कार रकम तथा अन्य भुक्तानी नियमअनुसार क्रमशः उपलब्ध गराइने बताउँदै तालाबन्दीका कारण फुटबल गतिविधिमा नकारात्मक प्रभाव पर्न सक्ने भएकाले संवादमार्फत समस्या समाधान गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

