काठमाडौँ, २४ फागुन : काठमाडौँ उपत्यकामा पछिल्ला केही दिनयता वायु प्रदूषण बढ्न थालेको छ। लामो समयदेखि वर्षा नहुनु र हावा नचल्नुका कारण मौसम धुम्मिँदै जाँदा प्रदूषणको मात्रा बढेको हो।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वर्षा नहुनु र हावाको गति न्यून हुनुका कारण उपत्यकामा धुलो–धुँवा जमेर मौसम धुम्मिएको बताउनुभयो। उहाँका अनुसार हालसम्म गत वर्षको तुलनामा प्रदूषण केही कम भए पनि वन डढेलो लाग्न थालेमा प्रदूषण अझ बढ्न सक्ने सम्भावना रहेको छ।
“लामो समयदेखि वर्षा हुन सकेको छैन, हावा पनि चलेको छैन, त्यसैले केही दिनयता मौसम धुम्मिएको छ,” उहाँले भन्नुभयो, “वन डढेलो नलागेसम्म प्रदूषण अत्यधिक रूपमा बढ्ने सम्भावना भने कम छ।”
एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार आज मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकाङ्क १८६ पुगेको छ। यससँगै काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये चौथो स्थानमा सूचीकृत भएको वातावरणविद् भूषण तुलाधारले जानकारी दिनुभयो।
उहाँले प्रदूषण नियन्त्रणका लागि समयमै पूर्वतयारी आवश्यक रहेको उल्लेख गर्दै घरबाट निस्कने फोहरको उचित व्यवस्थापन, वन डढेलो नियन्त्रण, सवारीसाधनको धुँवा परीक्षण तथा मापदण्डको कडाइका साथ कार्यान्वयन गर्न सके वायु प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो।
एक्यूआईको मापदण्डअनुसार ०–५० ‘राम्रो’, ५१–१०० ‘सचेत रहनुपर्ने’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ।
हाल काठमाडौँको सूचकाङ्क १५१–२०० को श्रेणीमा परेकाले विशेषगरी श्वासप्रश्वास र मुटु रोगीहरूले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

