काठमाडौँ, २४ फागुनः प्रधानमन्त्री सुशीला कार्की ले भदौ २३ र २४ मा भएको घटनाबारे गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा लैजाने बताउनुभएको छ।
आयोगको प्रतिवेदन ग्रहण गरेपछि प्रधानमन्त्री कार्कीले प्रतिवेदनलाई आफू र गृहमन्त्रीले अध्ययन गरी मन्त्रिपरिषद्मा पेस गर्ने जानकारी दिनुभयो। उहाँका अनुसार प्रतिवेदनको अध्ययनपछि त्यसको कार्यान्वयन प्रक्रिया अघि बढाइनेछ।
प्रधानमन्त्री कार्कीले आवश्यकताअनुसार प्रतिवेदन सार्वजनिक गर्ने विषयमा पनि सरकारभित्र छलफल हुने बताउनुभयो।
उहाँले भन्नुभयो, “सार्वजनिक गर्ने विषयमा पनि हामी छलफल गर्छौँ। प्रतिवेदनको विवरण हेरेर सम्भव भए पूरै दस्तावेज सार्वजनिक गर्नेछौँ, नसके कम्तीमा त्यसको निचोड भने सार्वजनिक गर्नेछौँ।”
प्रधानमन्त्री कार्कीले प्रतिवेदनमा घटनासम्बन्धी यथार्थ वस्तुस्थिति र सत्यतथ्य समेटिएको विश्वास व्यक्त गर्नुभयो। साथै, आयोगका अध्यक्ष र सदस्यहरूले गरेको मेहनतको सराहना पनि गर्नुभयो।

